आइटी र सोसियल मिडियाभन्दा जनताको घरदैलो नै प्रभावकारी हुन्छ : प्रचण्ड

 आइटी र सोसियल मिडियाभन्दा जनताको घरदैलो नै प्रभावकारी हुन्छ : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतन्त्रमाथि प्रहार गर्न विश्वव्यापी रूपमा भूराजनीतिक चलखेल भइरहेको र त्यसको बाछिटा नेपालमा पनि देखिएको दाबी गरेका छन । मंगलबार काठमाडौँ निर्वाचन क्षेत्र नं. ५ मा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन।

संयोजक प्रचण्डले पछिल्लो समय सामाजिक सञ्जालमा गरिने ‘स्टन्ट’ कै भरमा विश्व साम्राज्यवादले विभिन्न देशको राजनीतिमा हस्तक्षेप गर्ने गरेको टिप्पणी गरेका छन।

विचार, राजनीति, सिद्धान्त र इतिहासको विरासत नभएका शक्तिहरू सामाजिक सञ्जालको सहारामा लोकप्रिय हुन खोजेको उनको भनाइ छ । उनले भने, ‘इतिहास र सिद्धान्त नहुनेहरू स्टन्टका भरमा चल्न खोज्दैछन्, यसको प्रतिवाद गर्न नयाँ संकल्प आवश्यक छ ।’

विकास निर्माण, सुशासन, भ्रष्टाचार नियन्त्रण र सामाजिक न्यायका लागि नेकपाले अघि सारेका योजनाहरूका कारण जनतामा फेरि आशा र भरोसा पलाएको उनले दाबी गरेका छन।

प्रविधिको विकास भए पनि आइटी र सोसियल मिडियाभन्दा जनताको घर-घरमा पुगेर प्रत्यक्ष संवाद गर्ने तरिका नै सबैभन्दा प्रभावकारी हुने उनको धारणा थियो ।

वर्तमान अवस्थामा नयाँ विचार र स्पष्ट राजनीतिक एजेन्डा बोकेको पार्टी नेकपा मात्रै भएको जिकिर गर्दै उनले राष्ट्र र जनताका लागि समर्पित तागत सृष्टि गर्न नयाँ कम्युनिस्ट पार्टी निर्माणको अभियान अघि बढेको उल्लेख गरेका छन।

प्रचण्डले आर्थिक समृद्धि, उत्पादन र रोजगारी सिर्जना नै आफ्नो पार्टीको मुख्य प्राथमिकता रहेको समेत प्रष्ट पारे।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *