काभ्रे-१ मा १८ उम्मेदवार चुनावी मैदानमा, पुरानाको विरासत जोगाउने कि नयाँ रोज्ने?

 काभ्रे-१ मा १८ उम्मेदवार चुनावी मैदानमा, पुरानाको विरासत जोगाउने कि नयाँ रोज्ने?

काठमाडौँ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ का लागि काभ्रे क्षेत्र नं. १ राजनीतिक चर्चाको केन्द्र बनेको छ । १५ दल र तीन स्वतन्त्रसहित १८ उम्मेदवार चुनावी मैदानमा उत्रिएसँगै यस क्षेत्रमा परम्परागत शक्ति र नयाँ उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

विशेषगरी ठूला दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपाका उम्मेदवारहरूबीचको प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ । यसपटकका मुख्य प्रतिस्पर्धीहरू सबै प्रतिनिधिसभाका लागि नयाँ अनुहारु हुनुले पनि निर्वाचन थप कौतुहलयपूर्ण बनेको छ ।

मुख्य प्रतिस्पर्धी र उनीहरूको आधार

जिल्ला निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा प्रमुख दलहरूले अनुभवी तर संसदीय निर्वाचनमा नयाँ पात्रहरूलाई अघि सारेका छन ।

नेकपा (एमाले) ले केन्द्रीय सदस्य अमित लामालाई मैदानमा उतारेको छ । २०७९ को निर्वाचनमा एमालेका उम्मेदवार थोरै मतान्तरले पराजित भएकाले यसपटक उक्त विरासत फर्काउने दाउमा लामा देखिन्छन् ।

नेपाली कांग्रेसले जिल्ला सचिव गुणराज मोक्तान उम्मेदवार छन् । सांगठनिक पकट र सत्ता गठबन्धनको अंकगणित मोक्तानका लागि मुख्य आधार हुन् ।

रास्वपाले कानुन व्यवसायी मधुकुमार चौलागाईंलाई उम्मेदवार बनाएर व्यावसायिक र शिक्षित मतदाता रिझाउने रणनीति लिएको छ ।

नेकपाले चौंँरीदेउराली गाउँपालिकाका पूर्व अध्यक्ष दिननाथ गौतम मैदानमा छन् । स्थानीय तहको अनुभव र ‘ग्राउन्ड’ राजनीति गौतमको सबल पक्ष हो ।

२०७९ को नतिजा र वर्तमान अंकगणित

गत २०७९ को निर्वाचनमा माओवादी केन्द्रका सूर्यमान दोङ ३४ हजार ४१२ मतसहित विजयी भएका थिए । उनले एमालेका रेशम लामालाई ३ हजार ९६४ मतले पछि पारेका थिए । तर, यसपटकको समीकरण र समानुपातिक मतको ट्रेन्ड फेरिएको छ ।

गत निर्वाचनको समानुपातिक मतलाई हेर्दा एमाले (२४,०७९) पहिलो स्थानमा थियो भने कांग्रेस (२१,७५५) दोस्रो र माओवादी केन्द्र (१७,३३५) तेस्रो स्थानमा थिए । रास्वपाले ९,७९४ मत प्राप्त गर्दै चौथो शक्तिका रूपमा उदय भएको थियो । यो तथ्याङ्कले कुनै पनि दल एक्लै सुरक्षित नरहेको र मतदाताको सानो ुस्विङुले नतिजा उल्ट्याउन सक्ने देखाउँछ ।

समावेशीता र मतदाताको अवस्था

यसपटक पनि काभ्रेमा दलित समुदायको प्रतिनिधित्व शून्य हुनु विडम्बनापूर्ण देखिएको छ । यद्यपि, जनजाति तर्फबाट २५ जनाको उम्मेदवारी परेको छ, जसले जातीय क्लस्टरको मत निर्णायक हुने संकेत गर्छ ।

काभ्रे क्षेत्र नं. १ मा कुल १ लाख ६१ हजार १०० मतदाता रहेका छन् । समग्र जिल्लामा महिलाभन्दा पुरुष मतदाताको संख्या बढी छ ।

अघिल्लो निर्वाचनमा माओवादीले जितेको यस क्षेत्रमा यसपटक एमालेको केन्द्रीय नेतृत्व, कांग्रेसको जिल्ला संयन्त्र, रास्वपाको ‘नयाँ लहर’ र नेकपाको स्थानीय अनुभवबीच कडा टक्कर हुने निश्चित छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *