रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियामा नयाँ नेतृत्व, अध्यक्षमा भण्डारी चयन

 रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियामा नयाँ नेतृत्व, अध्यक्षमा भण्डारी चयन

सिड्नी । रुपन्देही जिल्ला घर भई हाल विभिन्न पेशा–व्यवसाय तथा अध्ययनका सिलसिलामा अस्ट्रेलियामा रहेका नेपालीहरुको साझा संस्था रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाको अध्यक्षमा रञ्जिता अधिकारी भण्डारी चयन भएकी छन्। आइतबार सम्पन्न छैटौँ अधिवेशनले भण्डारीको नेतृत्वमा दुई वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो।

नवगठित कार्यसमितिको उपाध्यक्षमा सुचना पाण्डे र प्रदीप पन्थी, महासचिवमा कमल चापागाई, सचिवमा योगेश पराजुली तथा कोषाध्यक्षमा संयोगकुमार गौतम चयन भएका छन्। अधिवेशनले महिला संयोजकमा गायत्री पौड्याल र आईटी संयोजकमा सरोज पाण्डेलाई चयन गरेको छ। त्यसैगरी सदस्यहरुमा पदम अधिकारी, राजु खनाल, बविता ज्ञवाली, यादव गैरे, सविना बश्याल, शंकर शर्मा, आस्मा चापागाई, स्वदेश जयसवाल, नारायण घिमिरे, जि.एस. पाण्डे, सगुन लामिछाने, राजेन्द्र शर्मा भण्डारी, रिता शर्मा अर्याल र अशोक पंगेनी निर्वाचित भएका छन्।

अधिवेशनअन्तर्गत आयोजित औपचारिक कार्यक्रममा प्रमुख अतिथि तथा अस्ट्रेलियाका लागि न्यु साउथ वेल्सका अवैतनिक महावाणिज्यदूत संजिव शर्माले सञ्जालले च्यारिटी कार्यक्रममार्फत सामाजिक क्षेत्रमा परोपकारी र अनुकरणीय काम गरेको उल्लेख गर्दै अन्य संस्थालाई समेत यस्तो कार्य अनुकरण गर्न आग्रह गरे। उनले आवश्यक पर्दा सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे।

कार्यक्रममा ओएनएफ अष्ट्रेलियाका अध्यक्ष केशव जोशी, एनआरएन अष्ट्रेलियाका संस्थापक अध्यक्ष मना केसी, पूर्वअध्यक्ष नन्दु गुरुङ, ग्रेटर सिड्नीका अध्यक्ष विष्णु हमाल, एनआरएन न्यु साउथ वेल्सका सचिव प्रताप पन्थी तथा सञ्जालका संरक्षकहरू राज खनाल, मुक्तिराम पोखरेल र कृष्ण गैरेलगायतले सञ्जालको योगदानबारे चर्चा गरेका थिए। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, अभिभावक, सञ्चारकर्मी तथा सञ्जालका सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

निवर्तमान अध्यक्ष दिवाकर काफ्लेले आफ्नो कार्यकालका उपलब्धिबारे चर्चा गर्दै सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे। सन् २०१५ मा स्थापना भएको सञ्जालले कोभिड–१९ प्रभावितलाई राहत वितरण, यौन हिंसापीडित बालबालिकालाई सहयोग, क्यान्सरपीडित तथा भूकम्पपीडितलाई सहयोग, अनाथ आश्रममा रहेका फरक क्षमता भएका तथा सिमान्तकृत बालबालिकालाई शैक्षिक सामग्री वितरण, रक्तदान, स्वास्थ्य सामग्री सहयोग, उत्प्रेरणामूलक अभिमुखीकरण, साहित्यिक–सांस्कृतिक कार्यक्रम तथा महिलाहरुको तिज कार्यक्रमजस्ता विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।

आगामी दिनमा स्वदेश तथा विदेशका सरोकारवालासँग सहकार्य गर्दै सामाजिक कार्यलाई अझ सक्रिय बनाउने लक्ष्यसमेत संस्थाले प्रस्तुत गरेको थियो। कार्यक्रम संस्थाका अध्यक्ष दिवाकर काफ्ले, महासचिव सुचना पाण्डे र सचिव कमल चापागाईको समन्वयमा सम्पन्न भएको थियो।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *