संविधान संशोधन बहसपत्रका लागि सर्वदलीय कार्यदल गठन गर्ने निर्णय

 संविधान संशोधन बहसपत्रका लागि सर्वदलीय कार्यदल गठन गर्ने निर्णय

काठमाडौं । सरकारले संविधान संशोधनका विषयमा राष्ट्रिय सहमति खोज्दै बहसपत्र तयार पार्न विशेष कार्यदल गठन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको नेतृत्वमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दल समेटिने गरी यस्तो कार्यदल बनाउने निष्कर्ष निकालेको हो।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले संविधान संशोधनजस्तो संवेदनशील विषयमा व्यापक सहमति आवश्यक भएकाले सबै दलको सहभागिता सुनिश्चित गरिएको बताए। उनका अनुसार कार्यदलले साझा धारणा निर्माण गर्दै बहसपत्र तयार गर्ने जिम्मेवारी पाउनेछ।

उक्त कार्यदलले विभिन्न राजनीतिक दृष्टिकोण समेट्दै संविधान संशोधनका सम्भावित क्षेत्रहरू पहिचान गर्ने र त्यसका आधारमा बहसपत्र तयार गर्नेछ। यस प्रक्रियामार्फत सहमतिको वातावरण बनाउने सरकारको अपेक्षा छ।

यसैबीच, सरकारले संघीय संसद्को अधिवेशन बोलाउने प्रक्रिया पनि अघि बढाएको छ। मन्त्रिपरिषद्ले आगामी चैत १९ गते अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

सरकारको यो कदमलाई संविधान संशोधनको बहसलाई औपचारिक रूपमा अघि बढाउने प्रयासका रूपमा हेरिएको छ, जसले आगामी दिनमा राजनीतिक सहमति निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *