कांग्रेस एकताका लागि प्रदीप पौडेल को अपिल: छिन्नभिन्न होइन, एकजुट होऔँ
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसको एकताको पक्षमा एकजुट हुन सबै नेता र कार्यकर्तालाई अपिल गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले अहिलेको प्रतिकूलतामा छिनभिन्न भएर बिग्रन नहुने बताए ।
देशका हरेक संकटमा कांग्रेस एकजुट रहेको भन्दै उनले एकताकै बलमा कांग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व गरेर सफलता हासिल गरेको स्मरण गराएका छन् ।
‘अहिलेको प्रतिकूलतामा पनि हामी छिन्नभिन्न भएर बिग्रनु हुन्न’, उनले भने, ‘म पार्टी महामन्त्री मात्र नभई एक इमान्दार कार्यकर्ता भएर भन्दै छु– हामी सबै एकजुट होऔँ ।’
महामन्त्री पौडेलले कांग्रेसका सबै नेता र कार्यकर्तालाई एकतामा नै शक्ति रहेको बताएका छन् । ‘र, यसैको बलमा नै हामीले फेरि उज्यालो भविष्य प्राप्त गर्नेछौँ’, उनले भनेका छन् ।
