भदौ २४ को घटनामा राष्ट्रपति हटाएर कठपुतली सरकार बनाउने योजना थियो : प्रचण्ड

 भदौ २४ को घटनामा राष्ट्रपति हटाएर कठपुतली सरकार बनाउने योजना थियो : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान निर्वाचनलाई राष्ट्ररक्षा र स्वाधीनताको पक्षमा उभिने एउटा असाधारण अवसरका रूपमा व्याख्या गरेका छन । बिहीबार बागलुङको बुर्तिबाङमा आयोजित पार्टीको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मुलुकमा बाध्यात्मक परिस्थितिका कारण निर्वाचन हुन लागेको बताए।

भदौ २३ र २४ गतेका घटनालाई स्मरण गर्दै प्रचण्डले उक्त समयमा राज्य कसको नियन्त्रणमा थियो भन्ने गम्भीर प्रश्न उठेको टिप्पणी गरेका छन। “२४ गतेको घटना केवल जलाउने र लुट्ने उद्देश्यले मात्र भएको थिएन,” उनले भने, “त्यसको भित्री योजना त राष्ट्रपतिलाई हटाएर देशमा कठपुतली सरकार बनाउने र नेपाललाई युक्रेनजस्तै द्वन्द्वतर्फ धकेल्ने थियो भन्ने हामीले बुझेका छौँ ।” उनले उक्त घटनाबाट संविधान ‘घाइते’ भएको भन्दै अब राष्ट्रवादी शक्तिहरूले यसको रक्षा गर्नुपर्नेमा जोड दिए।

नेपालजस्तो सानो मुलुक ठूला शक्ति राष्ट्रहरूको प्रतिस्पर्धाको केन्द्र बन्न नहुनेमा जोड दिँदै संयोजक प्रचण्डले नेपालको भूगोललाई अन्यत्रको द्वन्द्व अघि बढाउन दुरुपयोग गरिने खतरा रहेको औँल्याए । युक्रेन र भेनेजुएलाको उदाहरण दिँदै उनले भने, “साँढेको जुधाइमा बाच्छाको मिच्याइँ नहोस् भन्नेमा हामी सजग रहनुपर्छ । विदेशी हस्तक्षेप र षड्यन्त्रलाई रोक्न जनता एकजुट हुनुको विकल्प छैन ।”

उनले यो निर्वाचनले देशको वास्तविक नेतृत्व जनताकै हातमा छ भन्ने कुरा स्थापित गर्ने दाबी गर्दै सम्पूर्ण नागरिकलाई सक्रिय भएर निर्वाचनमा सहभागी हुन र मुलुकविरुद्धका जालझेल चिर्न आग्रह गरेका छन।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *