किसानका लागि डिजिटल डाक्टर: रोग, मल र बजारको समस्या अब मोबाइलबाटै समाधान

 किसानका लागि डिजिटल डाक्टर: रोग, मल र बजारको समस्या अब मोबाइलबाटै समाधान

काठमाडौँ । नेपालको कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ कृषि तथा पशुपन्छी विकास मन्त्रालय र कनेक्ट किसान प्रालिबीच आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोगसम्बन्धी महत्वपूर्ण सम्झौता भएको छ ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (एनएएएमपी) का निर्देशक हिक्मतकुमार श्रेष्ठ र कनेक्ट किसानका निर्देशक राजन दाहालले बुधबार एक समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । यस सम्झौतासँगै अब नेपाली किसानले ‘डिजिटल प्लेटफर्म’ मार्फत आफ्नो खेतबारीका समस्याको तत्काल समाधान पाउनेछन् ।

कनेक्ट किसानले विकास गरेको ‘भ्वाइस बेस’ (आवाजमा आधारित) र ‘टेक्स्ट बेस’ (अक्षरमा आधारित) एआई प्रविधिले किसानलाई व्यक्तिगत कृषि सल्लाह दिनेछ । किसानले मलको प्रयोग, बीउबिजन, बजारको पहुँच र रोग-कीरा व्यवस्थापनका बारेमा एआईलाई प्रश्न सोध्न सक्नेछन् ।

निर्देशक श्रेष्ठका अनुसार, साना समस्याको समाधान एआईले तत्काल दिनेछ भने जटिल समस्याका लागि प्राविधिक र अनुसन्धान टोलीले सहयोग गर्नेछ । यस प्रणालीले संकलन गरेको डेटाका आधारमा सरकारले भविष्यमा कृषि नीति र योजनाहरू तय गर्ने लक्ष्य राखेको छ ।

कनेक्ट किसानका निर्देशक राजन दाहालले भारतमा एआईको प्रयोगले उत्पादन बढेको उदाहरण दिँदै नेपालमा पनि यसले ठूलो परिवर्तन ल्याउने दाबी गरे । किसानले भोगिरहेका नीतिगत समस्या वा बजारसँग सम्बन्धित चुनौतीहरू पनि एआईमार्फत पठाउन सकिनेछ, जसलाई एनएएएमपीले आवश्यक कदम चाल्न प्रयोग गर्नेछ ।

यो डिजिटल क्रान्तिले नेपाली किसानलाई आधुनिक खेती प्रणालीसँग जोड्दै उनीहरूको आयआर्जन बढाउन र कृषिमा रहेका जोखिम न्यूनीकरण गर्न कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *