टी-२० विश्वकप: नेपाल आज इटालीसँग भिड्दै

 टी-२० विश्वकप: नेपाल आज इटालीसँग भिड्दै

काठमाडौँ । आईसीसी टी-२० विश्वकप अन्तर्गत समूह ‘सी’ को आफ्नो दोस्रो खेलमा नेपालले आज इटालीसँग प्रतिस्पर्धा गर्दैछ। मुम्बईको ऐतिहासिक वाङ्खेडे रङ्गशालामा दिउँसो ३:१५ बजे सुरु हुने यस खेलमा नेपाल १२ वर्ष लामो विश्वकपको जितको खडेरी समाप्त गर्ने उद्देश्यका साथ मैदान उत्रिनेछ।

नेपालले सन् २०१४ को विश्वकपमा अफगानिस्तानलाई पराजित गरेयता विश्वकपमा जित निकाल्न सकेको छैन। अघिल्लो विश्वकपमा दक्षिण अफ्रिकासँग १ रन र यसै संस्करणको पहिलो खेलमा बलियो इंग्ल्यान्डसँग मात्र ४ रनले पराजित भएको नेपाल आज इटालीलाई हराउँदै पुनरागमन गर्न चाहन्छ।

नेपाल र इटालीबीच टी-२० अन्तर्राष्ट्रियमा यो पहिलो भेट हो। यसअघि सन् २०१३ मा आईसीसी डिभिजन ३ अन्तर्गतको एकदिवसीय खेलमा नेपालले इटालीलाई ८ विकेटले सहजै पराजित गरेको थियो। तत्कालीन कप्तान पारस खड्काको नेतृत्वमा रहेको नेपाली टोलीले २११ बल बाँकी छँदै जित हात पारेको सुखद इतिहास छ।

समूह ‘सी’ मा हाल वेस्ट इन्डिज ४ अङ्कका साथ शीर्ष स्थानमा छ भने इंग्ल्यान्ड र स्कटल्यान्डको समान २ अङ्क रहेको छ। नेपाल र इटाली दुवै टोली आफ्नो पहिलो खेलमा पराजित भएकाले आज दुवैका लागि पहिलो अङ्क जोड्ने महत्वपूर्ण अवसर हो।

पहिलो खेलमा टेस्ट राष्ट्र इंग्ल्यान्डलाई कडा चुनौती दिएको नेपाली टोली उच्च मनोबलका साथ इटालीविरुद्ध हाबी हुने दाउमा छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *