विश्व बजारमा तेलको मूल्य बढायो

 विश्व बजारमा तेलको मूल्य बढायो

काठमाडौँ। इरान र इजरायल बीचको युद्ध चर्किँदै गएपछि विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ। ऊर्जा आपूर्तिमा जोखिम बढेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ह्वात्तै उकालो लागेको हो।

सोमबार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ११५ डलरभन्दा माथि पुगेको छ, जुन अघिल्लो साताको अन्त्यतिरको मूल्यभन्दा करिब २४ प्रतिशत बढी हो। त्यस्तै अमेरिकामा उत्पादन हुने वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई) कच्चा तेलको मूल्य पनि ११६ डलर प्रति ब्यारेल पुगेको छ, जुन अघिल्लो मूल्यभन्दा झन्डै २८ प्रतिशतले बढेको हो।

मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण तेल उत्पादन र ढुवानीमा ठूलो जोखिम उत्पन्न भएपछि विश्व बजारमा तेलको मूल्य बढेको विश्लेषकहरूले बताएका छन्। पर्सियन गल्फबाट विश्वभर तेल पठाउने यो प्रमुख समुद्री मार्गबाट दैनिक करिब १५ मिलियन ब्यारेल कच्चा तेल ढुवानी हुने गर्छ, जुन विश्वको कुल तेल आपूर्तिको करिब २० प्रतिशत हो।

युद्धका कारण मिसाइल र ड्रोन आक्रमणको खतरा बढेपछि धेरै तेल ट्यांकरहरू यो मार्ग प्रयोग गर्न हिच्किचाउन थालेका छन्। यसले आपूर्ति श्रृंखलामा अवरोध आउने र बजारमा तेलको अभाव हुन सक्ने चिन्ता बढाएको छ।

यसबीच युद्धका क्रममा तेल तथा ग्यासका संरचनाहरू पनि निशानामा परेका छन्। इजरायलले तेरहनमा रहेको तेल भण्डारण स्थलमा आक्रमण गर्दा चार जनाको मृत्यु भएको इरानी अधिकारीहरूले बताएका छन्। इजरायलले भने ती भण्डारण स्थलहरू इरानको सैन्य प्रयोजनका लागि प्रयोग भइरहेको दाबी गरेको छ।

युद्धको असर अन्य तेल उत्पादक मुलुकहरूमा पनि देखिन थालेको छ। इराक, कुवेत र संयुक्त अरब इमिरेट्सले
निर्यातमा समस्या देखिएपछि उत्पादन घटाएका छन्। यसले विश्व बजारमा तेल आपूर्ति कम हुने चिन्ता अझ बढाएको छ।

इरानले दैनिक करिब १६ लाख ब्यारेल तेल निर्यात गर्ने गर्छ, जसको ठूलो हिस्सा चीनले खरिद गर्छ। यदि युका कारण इरानको निर्यात प्रभावित भयो भने चीनले अन्य देशबाट तेल खोज्नुपर्ने अवस्था आउन सक्छ, जसले विश्व बजारमा थप दबाब सिर्जना गर्न सक्ने अनुमान गरिएको छ।

तेलको मूल्य बढेसँगै विश्व अर्थतन्त्रमा पनि प्रभाव देखिन थालेको छ। ऊर्जा महँगो हुँदा महँगी बढ्ने र उपभोक्ताको खर्च घट्ने सम्भावना बढ्ने भएकाले प्रमुख शेयर बजारहरूमा गिरावट देखिएको छ।

निक्केई २२५ सूचकांक सोमबार ७ प्रतिशतभन्दा बढीले घटेको छ भने अन्य अन्तर्राष्ट्रिय बजारहरूमा पनि दबाब देखिएको छ। विश्लेषकहरूले तेलको मूल्य लामो समयसम्म १०० डलरभन्दा माथि कायम रहे विश्व अर्थतन्त्रमा गम्भीर असर पर्न सक्ने चेतावनी दिएका छन्।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *