२४ घण्टाको समयसीमा: नखोले आक्रमण गर्ने ट्रम्पको चेतावनी
काठमाडौँ – विश्वकै अत्यन्त महत्वपूर्ण तेल ढुवानी मार्ग ‘होर्मुज’ पुनः सञ्चालनलाई लिएर अमेरिका र इरानबीच तनाव चुलिँदै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई दिएको समयसीमा सकिन अब २४ घण्टा मात्र बाँकी रहेको छ।
ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत कडा चेतावनी दिँदै इरानले बिनासर्त उक्त जलमार्ग नखोले गम्भीर परिणाम भोग्नुपर्ने बताएका छन्। उनले आवश्यक परे इरानका ऊर्जा पूर्वाधारमाथि आक्रमण गर्न सकिने संकेत समेत गरेका छन्।
मार्च २१ को राति सार्वजनिक गरिएको सन्देशअनुसार, इरानलाई तेहरान समयअनुसार मार्च २४ बिहान ३ः१४ बजेसम्मको अल्टिमेटम दिइएको छ।
उता, Iranले अमेरिकी चेतावनीलाई कडा शब्दमा अस्वीकार गर्दै प्रतिकार गर्ने चेतावनी दिएको छ। तेहरानले आफूविरुद्ध कुनै सैन्य कदम चालिए खाडी क्षेत्रमा रहेका अमेरिकी स्वार्थसँग जोडिएका तेल पूर्वाधारलाई निशाना बनाइने जनाएको छ।
दुवै देशबीच बढ्दो तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा समेत प्रभाव पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
