कांग्रेस नेता दीपक खड्का ७ दिन प्रहरी हिरासतमा

 कांग्रेस नेता दीपक खड्का ७ दिन प्रहरी हिरासतमा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का लाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि सिआइबीले उनलाई आइतबार बिहान पक्राउ गरेको हो।

खड्काको घरमा भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनीपछि ठूलो परिमाणमा अवैध रकम फेला परेको दाबी गरिएको छ। त्यसपछि उनीमाथि सम्पत्ति शुद्धीकरण र सार्वजनिक सम्पत्ति हडपेको आरोपमा अनुसन्धान तीव्र पारिएको हो।

यसैबीच, नेपाल स्काउटको लैनचौरस्थित करिब १२ रोपनी जग्गा र भवन गैरकानुनी रूपमा कब्जा गरेको आरोप पनि खड्कामाथि लागेको छ। खड्का नेतृत्वको ‘खड्का ल्यान्ड डेभलपमेन्ट प्रालि’ ले वर्षौँदेखि उक्त जग्गा प्रयोग गर्दै आएको, सम्झौता सकिँदा पनि खाली नगरेको र भाडाबापतको करोडौँ रकम नतिरेको भन्दै स्काउटले उजुरी दिएको थियो।

यसअघि नै काठमाडौँ जिल्ला प्रशासन कार्यालयले उक्त जग्गामा रहेका संरचना सिल गरिसकेको छ।

केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमा ऊर्जामन्त्री रहेका खड्कामाथि पदको दुरुपयोग र सार्वजनिक सम्पत्ति हडपेको विषयमा लामो समयदेखि छानबिन हुँदै आएको थियो। अहिले अदालतको आदेशसँगै अनुसन्धान प्रक्रिया थप अगाडि बढेको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *