सिड्नीमा वृहत रक्तदान कार्यक्रम हुने
काठमाडौं/सिड्नी । नेपाली नयाँ वर्ष २०८४ को पूर्वसन्ध्यामा अष्ट्रेलियाको सिड्नीमा वृहत रक्तदान कार्यक्रम आयोजना हुने भएको छ ।
नेपालिज ब्लड डोनर्स एसोसिएसन (NBDA) अष्ट्रेलियाको आयोजनामा, रुपन्देही सामाजिक सञ्जाल (RSNA) अष्ट्रेलिया तथा फेन्का न्यू साउथ वेल्सको सहकार्यमा “रक्तदान जीवनदान” भन्ने मूल नारासहित आगामी अप्रिल ११, २०२६ मा सिड्नीस्थित टाउनहल ब्लड डोनर्स सेन्टरमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।
रगतको अभावका कारण कुनै पनि व्यक्तिले अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । हाल विभिन्न ब्लड सेन्टरहरूमा रगतको उच्च माग भई आपूर्ति कम भइरहेको अवस्थालाई मध्यनजर गर्दै उक्त अभियान सञ्चालन गर्न लागिएको हो ।
कार्यक्रम संयोजक तथा एसोसिएसनका सचिव प्रसन्न दाहालका अनुसार समाजका विभिन्न तहका सामुदायिक अगुवा, सहयोगी संस्थाका प्रतिनिधि तथा नियमित रक्तदान गर्न इच्छुक व्यक्तिहरूलाई कार्यक्रममा सहभागी भई योगदान गर्न आग्रह गरिएको छ ।
इच्छुक व्यक्तिहरूले आगामी अप्रिल ७, २०२६ भित्र सम्पर्क गरी आफ्नो नाम दर्ता गराउन समेत अनुरोध गरिएको छ ।
