कृषि केन्द्रिय संघको आयोजनामा सहकारी दिवस विशेष कार्यक्रम सम्पन्न
काठमाण्डौँ । नेपाल कृषि सहकारी केन्द्रिय संघले यस राष्ट्रिय सहकारी दिवस २०८२ का अवसरमा एक वृहत छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
६९ औँ सहकारी दिवसको नारा उद्यमशिलता र पारदर्शिता सहकारीको प्राथमिकता भन्ने थिममा रहेर एक वृहत कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्नुहुँदै राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा खगराज शर्माले सहकारी अभियानमा धेरै सहकारीले उद्यमशिलताको विकासमा खेलेको भूमिका प्रशंसागर्न लायक रहेको बताउनुभयो ।
उहाँले कतिपय सहकारी आफ्नो सिद्धान्तमा प्रतिवद्ध हुँदै सदस्य र समाजको आर्थिक सामाजिक रुपान्तरणमा योगदान गर्न सफल रहेको प्रतिकृया दिनुभयो ।
यसैगरी उहाँले सबै सहकारीमा समस्या नरहेको बताउँदै पारदर्शिताको विषयमा पनि केही सहकारीहरु नमुनायोग्य रहेको बताउनुभयो । यस्ता सकारात्मक कुराहरुबाट अरु सहकारीहरुले पनि पाठ सिकेर अगाडि बढ्नुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष रमेश पोख्रेलले सहकारीले राम्रो गर्न सक्ने सम्भावना रहेपनि केही नीतिगत अड्चनका कारण समस्या परेको भन्दै यस्ता अप्ठ्याराहरुलाई फुकाउँदै जानुपर्नेमा जोड दिनुभयो ।
यसैगरी कार्यक्रममा महासंघका उपाध्यक्ष तथा नेपाल कृषि सहकारी केन्द्रिय संघका निवर्तमान अध्यक्ष खेम बहादुर पाठकले सुशासन र उद्यमशिलताका लागि सहकारीमा साक्षरता बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले सहकारीका सञ्चालक कर्मचारी र सदस्यहरुलाई सहकारी शिक्षा मार्फत प्रशिक्षित गरी सुधार र रुपान्तरण गर्न सकिने बताउनुभयो ।
यसैगरी कार्यक्रममा सहकारी विभागका उपरजिष्ट्रार शशी कुमार लम्सालले सहकारीले अब सदस्यहरुको उत्पादनको खरिद भण्डारण प्रशोधन र बजारीकरणमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।
यसैगरी कार्यक्रममा सहकारी विज्ञ सुदर्शन ढकालले सहकारीका सम्भावना धेरै भएपनि कतिपय नीतिगत अष्पष्टताका कारण समस्य भएको बताउनुभयो । उहाँले सकारात्मक र सही कामका लागि नीतिगत व्यवस्थामा सहजिकरण गर्दै सहकारीलाई उत्पादन र बजारीकरणसंग जोड्नुपर्नेमा जोड दिनुभयो ।
यसैगरी कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रिय संघ लि का अध्यक्ष एकराज उप्रेतीले सामाजिक रुपान्तरणमा सहकारीले दियको योगदानको उच्च कदर हुनुपर्ने बताउनुभयो ।
उहाँले ग्रामीण क्षेत्रमा सहकारीले आर्थिक सामाजिक रुपान्तरणका लागि काम गरेको भएपनि केही नीतिगत अस्पष्टताका कारण सहकारीहरुलाई काम गर्न असहज भएको प्रति सबैको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले सहकारी क्षेत्रमा देखीएका कमीकमजोरी पहिचान गरी राम्रा सहकारीलाई उनिहरुको कामका आधारमा पुरस्कृत गर्ने र नराम्रा सहकारीलाई दण्डित गर्ने परिपाटीको विकास गर्न माग गर्नुभयो ।
छलफल कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि का महाप्रवन्धक डा रुद्र बहादुर श्रेष्ठले सहकारीमा उद्यमशिलता सुशासन पारदर्शिता र सहकारीको प्रभावकारीताका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
देशभरबाट १ सय भन्दा बढि सहकारीकर्मीहरुको सहभागितामा भएको कार्यक्रममा सहभागीहरुले सहकारी क्षेत्रले अहिले सामना गरिरहेको समस्याका बारेमा जिज्ञासा राख्नुभएको थियो ।
