भारतसहित ६ देशका ‘राजनीतिक’ राजदूत फिर्ता बोलाइँदै

 भारतसहित ६ देशका ‘राजनीतिक’ राजदूत फिर्ता बोलाइँदै

काठमाडौं । बालेन्द्र शाह (बालेन) को नेतृत्वमा नयाँ सरकार गठन भएसँगै राजनीतिक कोटामा नियुक्त भएका बाँकी राजदूतहरूलाई पनि फिर्ता बोलाउने तयारी तीव्र पारिएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मासहित चित्रलेखा यादव (अस्ट्रेलिया), सुम्निमा तुलाधार (डेनमार्क), शिवमाया तुम्बाहाङ्फे (दक्षिण कोरिया), कपिलमान श्रेष्ठ (दक्षिण अफ्रिका) र पूर्णबहादुर नेपाली (श्रीलंका) लाई फिर्ता बोलाउन लागिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले यसअघिका सम्पूर्ण राजनीतिक नियुक्तिहरू खारेज गर्ने नीति लिएसँगै यो कदम चालिएको हो।

यसअघि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा रहेको गैरदलीय अन्तरिम सरकारले ११ देशका राजनीतिक राजदूतहरूलाई फिर्ता बोलाएको थियो। तीमध्ये धेरैले राजीनामा दिइसके पनि जर्मनी, स्पेन र इजरायलका राजदूतहरूले अझै राजीनामा नदिई परराष्ट्र मन्त्रालयमा दैनिक हाजिर गरेर बसिरहेका छन्। सो समयमा राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि अदालतले अन्तरिम आदेश जारी गरेको थियो, तर सरकारले उनीहरूलाई मन्त्रालयमा हाजिर हुने गरी बोलाएर फिर्ता ल्याएको थियो। सोही विषयलाई लिएर तत्कालीन प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलना मुद्दासमेत दर्ता भएको थियो, जुन अझै किनारा लाग्न बाँकी छ।

नेपालको कूटनीतिक अभ्यासमा कुल ३४ दूतावास तथा स्थायी नियोगहरूमध्ये ५० प्रतिशत परराष्ट्र मन्त्रालयका सहसचिव (करियर डिप्लोम्याट) र बाँकी ५० प्रतिशत राजनीतिक कोटाबाट नियुक्त गर्ने परम्परा रहँदै आएको छ। वर्तमान परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक क्षेत्रलाई थप व्यावसायिक र राजनीतिमुक्त बनाउन ११ सयभन्दा बढी राजनीतिक नियुक्तिहरू पुनरावलोकन गर्ने तयारी गरिरहेका छन्। यो नयाँ कदमले नेपालको वैदेशिक सम्बन्ध र कूटनीतिक छविमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *