काठमाडौं माहानगरपालिकाकाे सहकार्यमा वैशाख १ देखि बेलुका ११ बजेसम्म साझा बस सन्चालन हुने

 काठमाडौं माहानगरपालिकाकाे सहकार्यमा  वैशाख १ देखि  बेलुका ११ बजेसम्म साझा बस सन्चालन हुने

काठमाडौं– काठमाडौं महानगरपालिका ले साझा यातायात सँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सेवा सुरु गर्ने भएको छ। बेलुका ८ बजेपछि सार्वजनिक यातायात अभावका कारण यात्रुले भोग्दै आएको समस्या समाधान गर्न यो सेवा सञ्चालन गर्न लागिएको हो।

महानगरका अनुसार पहिलो चरणमा दुई वटा मुख्य रुटमा सेवा सञ्चालन हुनेछ। ललितपुरको लगनखेलदेखि विभिन्न अस्पताल हुँदै बुढानीलकण्ठसम्मको उत्तर–दक्षिण १६ किलोमिटर रुट र थानकोटदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको पूर्व–पश्चिम २० किलोमिटर रुट निर्धारण गरिएको छ।

यी दुवै रुटमा चारवटा विद्युतीय बस सञ्चालन गरिनेछन्। सेवा साँझ ८ बजेदेखि राति ११ बजेसम्म चल्नेछ भने हरेक २० मिनेटको अन्तरमा बस उपलब्ध हुनेछ।

महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल का अनुसार राति सार्वजनिक यातायात नहुँदा यात्रुले महँगो भाडा तिर्नुपर्ने बाध्यता रहेकोले यसलाई सहज बनाउन सेवा सुरु गर्न लागिएको हो।

उनले विशेषगरी महिला, किशोरी र विद्यार्थीहरूलाई राति यात्रा गर्दा हुने असहजता र जोखिमलाई ध्यानमा राखेर सुरक्षित र सहज सेवा उपलब्ध गराउने उद्देश्य रहेको बताइन्।

बसहरूमा सीसीटिभी क्यामरा जडान गरिनेछ भने सुरक्षाका लागि नगर प्रहरी खटाइनेछ। महानगरले यस सेवालाई दीगो, सुरक्षित र भरपर्दो सार्वजनिक यातायात प्रणालीको रूपमा विकास गर्ने लक्ष्य राखेको जनाएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *