सहकारी क्षेत्रमा पारदर्शिता र उद्यमशीलतामा जोड
काठमाडौं । ६९औँ राष्ट्रिय सहकारी दिवसको पूर्वसन्ध्यामा सरोकारवालाहरूले उद्यमशीलता, पारदर्शिता, सुशासन र प्रभावकारी नियमनमा जोड दिएका छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभाग र राष्ट्रिय सहकारी महासंघको संयुक्त आयोजनामा बिहीबार आयोजित विशेष समारोहमा वक्ताहरूले सहकारी क्षेत्रको साख जोगाउन सुधार अपरिहार्य भएको औंल्याए । सहकारी क्षेत्रमा पछिल्ला वर्षहरूमा देखिएका विकृति, विसंगति र विश्वास संकटबीच गुज्रिरहेकाे भन्दै वक्ताहरूले साे विषयमा धारणा राखेका हुन् ।
प्रत्येक वर्ष चैत २० गते मनाइने सहकारी दिवस यस वर्ष “उद्यमशीलता र पारदर्शिताः सहकारीको अपरिहार्यता” भन्ने मूल नारासहित देशभर विविध कार्यक्रमका साथ मनाइँदै छ ।
कार्यक्रमको उद्घाटन गर्दै महासंघका पूर्व अध्यक्ष तथा पूर्व मन्त्री केशव बडालले सहकारी क्षेत्रलाई अर्थतन्त्रको बलियो खम्बाका रूपमा व्याख्या गर्दै यसको सुदृढीकरणका लागि सरकार र सहकारीबीच सहकार्य आवश्यक रहेको बताए ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले सहकारी क्षेत्र नेपालको आर्थिक तथा सामाजिक विकासका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै करिब ८० प्रतिशत घरपरिवार यसमा आबद्ध रहेको जानकारी दिए। महिला सशक्तीकरण र सामाजिक रूपान्तरणमा सहकारीको योगदान उल्लेखनीय रहेको उनको भनाइ थियो ।
यद्यपि, केही सहकारी संस्थामा समस्या देखिएको स्वीकार गर्दै उहाँले करिब १०० देखि २०० सहकारीमा विचलन आएको जनाए। सुशासन र पारदर्शिता सुनिश्चित गर्न सहकारी विभाग र नियमन प्राधिकरणको भूमिका अझ स्पष्ट र प्रभावकारी हुनुपर्नेमा उनको जोड रह्याे ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष रमेश पोखरेलले सप्ताहव्यापी रूपमा सहकारी दिवस मनाइएको र यसले सकारात्मक सन्देश प्रवाह गरेको बताए । कार्यक्रममा पूर्व सचिव गोपीनाथ मैनालीले यस वर्षको नारामाथि कार्यपत्र प्रस्तुत गरेका थिए।
सो अवसरमा महासंघका सल्लाहकार तथा पूर्व अध्यक्ष दीपक प्रकाश बाँस्कोटा, सल्लाहकार तथा पूर्व मन्त्री गणेश शाह, राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्मा लगायतले सहकारी क्षेत्र सुधारका विविध पक्षमा धारणा राखे । महासंघका उपाध्यक्ष डिवी बस्नेतले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन प्रेम सुवेदीले गरेका थिए। कार्यक्रममा ‘सहकारी सन्देश’ को कोशी विशेषांकको विमोचन समेत गरिएको थियो ।
पुरस्कार घोषणा
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघले राष्ट्रिय सहकारी पुरस्कार २०८२ अन्तर्गत नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरेलाई सम्मान गर्ने घोषणा गरेको छ । महासंघका उपाध्यक्ष तथा पुरस्कार छनोट उपसमितिका संयोजक खेमबहादुर पाठकका अनुसार उत्कृष्ट सहकारी पुरस्कार झापा जिल्ला सहकारी संघलाई प्रदान गरिनेछ । प्रदेशगत रूपमा कोशीबाट मेचीनगर साकोस, मधेशबाट महिला केन्द्र बहुउद्देश्यीय सहकारी (बर्दिबास), बागमतीबाट महिला मिलन साकोस (मकवानपुर), गण्डकीबाट मध्य नेपाल साकोस (नवलपरासी), लुम्बिनीबाट अष्टम साना किसान कृषि सहकारी (बाँके) र सुदूरपश्चिमबाट जनकल्याण बहुउद्देश्यीय सहकारी (बाजुरा) छनोट भएका छन् ।
उत्कृष्ट सहकारी कर्मचारी पुरस्कार जिल्ला बचत तथा ऋण सहकारी संघ रुपन्देहीकी व्यवस्थापक शर्मिला गौतम भट्टराईलाई प्रदान गरिनेछ भने सहकारी पत्रकारिता पुरस्कार सुनौलो नेपाल डटकमकी प्रदेश ब्युरो प्रमुख चिना थापालाई प्रदान गरिनेछ ।
महासंघका अनुसार यी सबै पुरस्कारहरू अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा वितरण गरिनेछन् ।
