साताको अन्तिम कारोबार दिन सेयर बजारमा झिनो सुधार
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा झिनो सुधार देखिएको छ। अघिल्लो दिन ७४.७३ अंकको ठूलो गिरावट बेहोरेको नेप्से परिसूचक आज ५.८२ अंकले बढेर २७८२.१८ विन्दुमा कायम भएको छ। कारोबार अवधिभर उतारचढाव देखिएको बजार दिउँसो १:०७ बजे २८०८ अंकको अधिकतम विन्दुसम्म पुगेको थियो।
बजार परिसूचकमा सुधार देखिए पनि कारोबार रकममा भने उल्लेख्य गिरावट आएको छ। बुधबार १२ अर्ब १० करोड रूपैयाँको सेयर किनबेच भएकोमा बिहीबार उक्त रकम घटेर ८ अर्ब ८१ करोड रूपैयाँमा सीमित भएको छ। कुल ३२८ धितोपत्रका २ करोड १३ लाखभन्दा बढी कित्ता सेयर खरिद-बिक्री हुँदा ९८ कम्पनीको मूल्य बढेको छ भने १५८ वटाको घटेको छ। १२ कम्पनीको मूल्य भने स्थिर रह्यो।
आजको बजारमा नयाँ सूचीकृत ६ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। रिलायन्स स्पिनिङ मिल्स, रिज लाइफ इनर्जी, सूर्यकुन्ड हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर र होटल फरेस्ट इनको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ। अर्कोतर्फ, भूगोल इनर्जीको मूल्य ३.०६ प्रतिशतले घट्दा लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्।
समूहगत परिसूचकतर्फ १३ मध्ये ७ समूहमा हरियाली छाएको छ। व्यापार समूह सर्वाधिक २.५३ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन १.७६ प्रतिशत र विकास बैंक समूह ०.४८ प्रतिशतले उकालो लागेका छन्। यद्यपि, बैंकिङ, फाइनान्स, बिमा र माइक्रोफाइनान्स जस्ता ६ वटा समूहका सूचक भने ओरालो लागेका छन्।
कारोबार रकमका आधारमा आज एसवाई प्यानल अग्रस्थानमा रह्यो। उक्त कम्पनीको ३५ करोड ७० लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। दोस्रो सूचीमा रहेको ङादी ग्रुप पावरको ३० करोड ९२ लाख रूपैयाँको कारोबार भयो। हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर र अपी पावर पनि धेरै कारोबार हुने कम्पनीहरूको सूचीमा परेका छन्।
