सरकारले दियो २४ घण्टाभित्र विमानस्थलहरुमा शिशु हेरचाह कक्ष बनाउन निर्देशन

 सरकारले दियो २४ घण्टाभित्र विमानस्थलहरुमा  शिशु हेरचाह कक्ष बनाउन निर्देशन

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका विमानस्थलको सेवा र सुविधामा व्यापक सुधार गर्न कडा निर्देशन जारी गरेको छ। मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत सबै आन्तरिक विमानस्थलहरूमा २४ घण्टाभित्र सुरक्षित र गोप्य स्तनपान तथा शिशु हेरचाह कक्ष स्थापना गर्न निर्देशन दिएको हो। यो कदमले विशेष गरी यात्राका क्रममा रहेका सुत्केरी महिला र साना बालबालिकाहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

मन्त्रालयको निर्देशनअनुसार अब देशभरका विमानस्थलमा महिला यात्रीहरूका लागि शौचालयमा निःशुल्क ‘स्यानिटरी प्याड’को व्यवस्था अनिवार्य गरिएको छ। महिला यात्रीको स्वास्थ्य र सहजतालाई प्राथमिकता दिँदै मन्त्रालयले यो सुविधा तत्काल कार्यान्वयनमा ल्याउन विमानस्थल अधिकारीहरूलाई निर्देशन दिएको हो। यसका साथै बिरामी तथा विशेष आवश्यकता भएका यात्रीहरूका लागि प्राथमिक हेरचाह कक्षको स्तरोन्नति गर्न समेत भनिएको छ।

विमानस्थलको सरसफाइलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाउन मन्त्रालयले नयाँ कार्यविधि लागू गर्ने भएको छ। अबदेखि प्रत्येक विमानस्थलले दैनिक सरसफाइको विवरण राख्न ‘लगबुक’ प्रणाली कायम गर्नुपर्नेछ। सरसफाइको गुणस्तर सुनिश्चित गर्न विश्व स्वास्थ्य सङ्गठन र अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनले तोकेका स्वास्थ्य मापदण्डहरूलाई पूर्ण रूपमा पालना गर्नुपर्ने मन्त्रालयले स्पष्ट पारेको छ।

मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाद्वारा जारी निर्देशनमा उल्लेख भएअनुसार, यी सुधारका कार्यहरू भए नभएको बारे मन्त्रालयले कडा निगरानी गर्नेछ। मन्त्रालयले निर्देशन कार्यान्वयनको विस्तृत सूचना प्रवाह गर्न र तोकिएको समयभित्रै सबै पूर्वाधारहरू तयार पार्न सम्बन्धित निकायलाई सचेत गराएको छ। सरकारी निर्देशनलाई अटेर गर्ने वा ढिलासुस्ती गर्ने अधिकारीहरूमाथि अनुगमनका आधारमा कारबाही प्रक्रिया अघि बढ्न सक्ने संकेत समेत दिइएको छ।

आम नागरिक र यात्रीहरूलाई पनि सरकारका यी निर्देशनहरू कार्यान्वयन भए नभएको जानकारी मन्त्रालयका सूचना अधिकारीलाई दिन अनुरोध गरिएको छ। नागरिकको प्रत्यक्ष सहभागिता र खबरदारीले मात्र विमानस्थलको सेवामा दिगो सुधार आउने सचिव निरौलाको भनाइ छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *