अष्ट्रेलियामा नेपाली अभिभावक समाजद्वारा नयाँ वर्ष २०८३ तथा माता तीर्थ औँसी विशेष कार्यक्रम सम्पन्न
सिड्नी, अप्रिल १७ — नेपाली अभिभावक समाज अष्ट्रेलियाको आयोजनामा नयाँ वर्ष २०८३ तथा माता तीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को पावन अवसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा विभिन्न रचनात्मक प्रस्तुति तथा शुभकामना आदान–प्रदान गरी प्रवासमा रहेका नेपालीहरूबीच आत्मीयता र भाइचारा अझ प्रगाढ बनाइएको थियो।
जननी जन्मभूमिको भावना आत्मसात गर्दै, नेपालका विभिन्न जिल्ला तथा स्थानबाट अष्ट्रेलिया पुगेका अभिभावकहरूले सन् २०२२ मा स्थापना गरेको यस संस्थाले नेपाली कला, संस्कृति, परम्परागत रीतिरिवाज तथा सांस्कृतिक गतिविधिहरूलाई प्रवासमै जीवन्त राख्ने उद्देश्यका साथ निरन्तर कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
उक्त कार्यक्रम समाजका अध्यक्ष कृष्ण बहादुर कर्मचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो भने सचिव शिव प्रसाद शर्माले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
कार्यक्रममा फेन्का न्यु साउथ वेल्सका कोअर्डिनेटर, एनबीडिए अष्ट्रेलियाका अध्यक्ष तथा समाजका सल्लाहकार मुक्तिराम पोखरेल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रमको सुरुवातमा समाजका सल्लाहकार एवं समाजसेवी शिव प्रसाद घिमिरेले स्वागत मन्तव्य दिँदै कार्यक्रमको उद्देश्य र महत्वबारे प्रकाश पार्नुभएको थियो।
प्रमुख अतिथि पोखरेलले संस्थाले स्थापना भएको चार वर्षमै नेतृत्व विकास, सामाजिक परिचालन, संस्कृति संरक्षण, परोपकारी तथा चेतनामूलक कार्यहरूमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै संस्थाको प्रशंसा गर्नुभयो। साथै, यस्ता कार्यक्रमसँग सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

कार्यक्रममा समाजसेवी रामबहादुर खड्का, तुलसी अधिकारी, सल्लाहकार शंकर राजभण्डारी, निवर्तमान अध्यक्ष गणेश पोखरेल, उपाध्यक्षद्वय बद्री फैजू र विष्णुमाया ढकाल, सहसचिव शिवराज वाग्ले, कोषाध्यक्ष वीरेन्द्र बस्नेत, सहकोषाध्यक्ष अम्बरबहादुर कार्की, सदस्यहरू निर्मला पाण्डे ओस्ती, विष्णु कुमारी गुरुङ, प्रद्युम्न सिम्खडा, कान्छीमाया नापित (रेनु), नेपाल चेम्बर अफ कमर्स अष्ट्रेलियाका दूत सन्देशराज भण्डारी, तनहुँ आबुखैरेनीका पूर्व गाविस उपाध्यक्ष पुष्पा श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा १५० भन्दा बढी अभिभावक तथा समुदायका अगुवाहरूको उत्साहजनक सहभागिता रहेको थियो। साथै, कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्य तथा प्रस्तुतीहरू पनि समावेश गरिएका थिए।
यस कार्यक्रमले प्रवासमा रहँदा पनि नेपाली पहिचान, संस्कृति र परम्परालाई जोगाउँदै समुदायबीच एकता र आत्मीयता कायम राख्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

