प्राथमिकताका साथ कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक ले उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्ने रणनीतिलाई तीव्रता दिएको छ। बैंकले विशेषगरी कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै २०८२ चैत मसान्तसम्म ३९ अर्ब ५३ करोड २० लाख रुपैयाँ कृषि कर्जा प्रवाह गरेको जनाएको छ।
बैंकले आधार दरमा न्यूनतम प्रिमियम थप गरी सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ। कृषक तथा कृषि उद्यमीलाई आकर्षित गर्न कर्जासँग सम्बन्धित प्रशोधन शुल्कमा समेत सहुलियत दिइएको छ। कुखुरापालनदेखि माछापालनसम्मका परियोजनामा लगानी बढाउँदै बैंकले प्रदेशअनुसार उत्पादन केन्द्रित कार्यक्रम अघि सारेको छ।
यसअन्तर्गत ४.७५ प्रतिशत ब्याजदरमा अधिकतम ५ करोड रुपैयाँसम्म ‘प्रदेश विशेष कृषि कर्जा’ उपलब्ध गराइँदै आएको छ। त्यस्तै, साना किसानलाई लक्षित गरी बिना प्रशोधन शुल्क १० लाख रुपैयाँसम्म ‘साना किसान सरल कर्जा’ पनि सोही ब्याजदरमा उपलब्ध गराइएको छ। बैंकले किसानहरूको सहज पहुँचका लागि ‘किसान क्रेडिट कार्ड’ सेवा पनि सञ्चालनमा ल्याएको छ।
कृषि कर्जालाई व्यवस्थित बनाउन बैंकले छुट्टै नीति तथा कार्यविधि लागू गर्नुका साथै केन्द्रीय कार्यालयमै कृषि तथा सामाजिक बैंकिङ विभाग स्थापना गरेको छ। दक्ष कृषि विज्ञलाई कर्मचारीका रूपमा परिचालन गर्दै बैंकले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाएको छ।
हाल बैंकका ७७ वटै जिल्लामा फैलिएका ३१४ शाखामार्फत कृषि कर्जा सेवा उपलब्ध भइरहेको छ, जसले ग्रामीण कृषकको पहुँच विस्तार गरेको छ। वित्तीय सचेतना कार्यक्रममार्फत पनि बैंकले कृषकहरूलाई कर्जाबारे जानकारी दिँदै आएको छ।
बैंकका अनुसार यस पहलले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा सकारात्मक योगदान पुर्याइरहेको छ।
