मनिषा कोइरालाले रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्दै भनिन् – “राज्यले अन्याय गर्यो, म नागरिकको हैसियतले बोलेकी हुँ”
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सरकारले गरेको कारबाहीप्रति असहमति जनाउँदै अभिनेत्री मनिषा कोइरालाले हस्ताक्षर अभियानमा सहभागिता जनाएकी छन्।
रास्वपाले लामिछानेमाथि “राजनीतिक प्रतिशोध” साँधिएको भन्दै सुरु गरेको विरोध हस्ताक्षर अभियानमा नेतादेखि कलाकार, बुद्धिजीवी र सर्वसाधारणसम्मले सहभागिता जनाइरहेका छन्। यही क्रममा बिहीबार अभिनेत्री कोइराला पनि रास्वपा कार्यालय, वनस्थली पुगिन् र लामिछानेको पक्षमा हस्ताक्षर गरिन्।
हस्ताक्षरपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले भनिन्, “म कुनै पनि राजनीतिक पार्टीमा आबद्ध छैन, तर एक सचेत नागरिकको हैसियतले यो हस्ताक्षर गरेकी हुँ। मलाई लाग्छ, रवि लामिछानेमाथि अन्याय र दूव्र्यवहार भएको छ, त्यसविरुद्ध आवाज उठाउनु सबै नागरिकको दायित्व हो।”
रास्वपाका नेताहरूले समेत राज्यले लामिछानेमाथि नियोजित रूपमा कारबाही गरेर प्रतिशोधको राजनीति गरेको आरोप लगाउँदै आएका छन्। पार्टीले सञ्चालित हस्ताक्षर अभियानलाई सर्वसाधारणले समेत ठूलो साथ दिइरहेका छन्।
अभिनेत्री कोइरालाले थप भनिन्, “कुनै पनि नागरिकमाथि राजनीतिक पूर्वाग्रहका कारण अन्याय हुनु हुँदैन। यस्तो कामले लोकतन्त्रलाई नै धम्की दिन्छ।”
रास्वपाले हस्ताक्षर अभियान जारी राख्ने जनाएको छ भने यो अभियानलाई विभिन्न क्षेत्रमा रहेका व्यक्तित्वहरूले पनि समर्थन जनाइरहेका छन्।


