कृषि विकास बैंकको ब्रान्ड एम्बेसडरमा दोहोरिइन् सावित्रा भण्डारी (साम्बा)

 कृषि विकास बैंकको ब्रान्ड एम्बेसडरमा दोहोरिइन् सावित्रा भण्डारी (साम्बा)

काठमाडौं । राष्ट्रिय महिला फूटबल टोलीकी कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ पुनः कृषि विकास बैंक लिमिटेडको ब्रान्ड एम्बेसडर नियुक्त हुनुभएको छ ।

शुक्रबार राजधानीमा आयोजित एक विशेष कार्यक्रममा बैंकले साम्बालाई आगामी एक वर्षका लागि सद्भावनादूत (ब्रान्ड एम्बेसडर) घोषणा गरेको हो।

सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको उपस्थितिमा बैंकका उपमहाप्रबन्धक सुदिप कुमार दाहाल र सावित्रा भण्डारीले हस्ताक्षर गर्नुभएको थियो ।

कार्यक्रममा बोल्नुहुँदै कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकलाई सर्वसाधारण जनतामाझ विश्वासिलो र नजिकको बैंकका रूपमा स्थापित गर्न साम्बाको लोकप्रियता, प्रतिबद्धता र देशको लागि खेलमार्फत गरेको योगदानले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले बैंकले समाज र खेलक्षेत्रसँगको सम्बन्धलाई अझै मजबुत बनाउन यस्तो सहकार्यलाई निरन्तरता दिँदै आएको बताउनुभयो ।
प्रमुख कार्यकारी अधिकृत गुरुङले भन्नुभयो “साम्बा आज युवा पुस्ताको प्रेरणाको स्रोत बन्नुभएको छ । उहाँले खेल मैदानमा देखाएको संघर्ष र उपलब्धिलाई हामी बैंकिङ क्षेत्रमा पनि प्रेरणाका रूपमा लिन सक्छौं।

यो साझेदारी केवल बैंक र खेलाडीबीचको सम्झौता मात्र होइन, यो हाम्रो संस्थागत सामाजिक उत्तरदायित्वको एउटा महत्वपूर्ण कदम पनि हो।”

सामान्य ग्रामीण क्षेत्रबाट आफ्नो त्याग, संघर्ष, निरन्तरको प्रयास, अठोटले सावित्राले आफुलाई आज विश्वमा चिनाउन सफल रहेको भन्दै प्रमुख कार्यकारी अधिकृत गुरुङले आफ्नो लक्ष्य र सपनालाई साकार पार्न जस्तोसुकै कठिनाई आएपनि निरन्तर सकारात्मक उर्जाकासाथ काम गर्दा नतिजा हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेकोमा उहाँबाट सिक्ने धेरै कुरा रहेको बताउनुभयो ।

यसैगरी कार्यक्रममा ब्रान्ड एम्बेसडर नियुक्त भएपछि आफ्नो प्रतिक्रिया दिँदै सावित्रा भण्डारीले “कृषि विकास बैंक जस्तो प्रतिष्ठित वित्तीय संस्थासँग फेरि सहकार्य गर्न पाउँदा आफु अत्यन्त खुसी रहेको बताउनुभयो ।

खेलाडीको सफलतामा जनताको विश्वास, माया र सहयोग अपरिहार्य हुन्छ भन्दै उहाँले बैंकले आफुलाई दिएको जिम्मेवारीलाई गर्वका साथ बहन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

भण्डारीले भन्नुभयो “म खेल मैदानमा जस्तै ईमानदारी, लगनशीलता र समर्पणका साथ बैंकको ब्रान्ड प्रवर्द्धनमा पनि योगदान दिनेछु। हाम्रो साझा प्रयासले बैंक मात्र होइन, समाजमा पनि सकारात्मक सन्देश फैलिनेछ भन्ने विश्वास लिएको छु।”

समारोहमा बैंकका उपमहाप्रवन्धक, विभिन्न विभागका प्रमुख, कर्मचारी प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिती रहेको थियो।

सम्झौताअनुसार साम्बाले कृषि विकास बैंकका विभिन्न विज्ञापन, प्रचार–प्रसार गतिविधि, बजार प्रवर्द्धन कार्यक्रम तथा सामाजिक सन्देशयुक्त अभियानमा सक्रिय रुपमा सहभागिता जनाउनुहुनेछ ।

कृषि विकास बैंकले गत वर्षदेखि साम्बालाई ब्रान्ड एम्बेसडर बनाएको थियो। साम्बा नेपाल महिला राष्ट्रिय फुटबल टोलीको सफल कप्तान मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा गोलकीर्तिमान कायम गर्न सफल खेलाडी पनि हुनुहुन्छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *