विश्वकप छनोट : समूहको अन्तिम खेलमा आज नेपाल र जापान आमनेसामने

 विश्वकप छनोट : समूहको अन्तिम खेलमा आज नेपाल र जापान आमनेसामने

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट–एशिया प्यासिफिक छनोट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले जापानसँग प्रतिस्पर्धा गर्दैछ।

पहिलो चरणको अन्तिम खेल भएकाले आजको भिडन्तले समूह विजेता र उप–विजेताको टुंगो लगाउनेछ।
दुवै टोलीले एक खेल बाँकी रहँदै नै ‘सुपर सिक्स’ चरणमा स्थान सुरक्षित गरिसकेका छन्।

गत बिहीबार भएको समूह ‘बी’को खेलमा जापानले कुवेतलाई पराजित गरेपछि नेपाल र जापान दुवै टोली सुपर सिक्समा प्रवेश गरेका हुन्।

नेपालसँग पहिले नै हार भोगिसकेको कुवेत भने समूह चरणबाट बाहिरिएको छ। आजको खेलमा जित्ने टोली सुपर सिक्स चरणमा अतिरिक्त अंक सहित प्रवेश गर्नेछ, जसले आगामी चरणमा सहज स्थिति बनाउनेछ।

पहिलो खेलमा ५८ रनको शानदार जित निकालेको नेपाल उच्च आत्मबलका साथ जापानविरुद्ध मैदानमा उत्रने तयारीमा छ।

यसैबीच, आज टी–२० विश्वकप छनोटका तीन खेलहरू हुँदैछन्। पहिलो खेलमा बिहान पौने १२ बजे मलेसिया र संयुक्त अरब इमिरेट्स (UAE) भिड्दैछन्।
दोस्रो खेलमा दिउँसो ४ः१५ बजे नेपाल र जापान, र अन्तिम खेलमा राति ८ः४५ बजे ओमान र पपुवा न्यूगिनी (PNG) आमनेसामने हुनेछन्।

नेपाल र जापानबीचको आजको खेलमा दर्शकहरू नेपालले समूह विजेता बन्दै सुपर सिक्समा बलियो सुरुवात गर्ने अपेक्षामा छन्।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *