सबैलाई आ–आफ्नो ठाउँबाट निर्वाचनमा जुट्न : प्रधानमन्त्री कार्कीको अनुरोध

काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको मितिमा भयरहित र निष्पक्ष वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको पुनः दोहोर्याएकी छन्।
मङ्गलबार बालुवाटारमा प्रमुख राजनीतिक दलहरूसँग भएको संयुक्त संवादपछि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री कार्कीले सबै दल, नागरिक र राज्यका अङ्गहरूलाई आ–आफ्नो जिम्मेवारीका साथ आगामी निर्वाचनमा जुट्न आह्वान समेत गरिन्।
उनले भनिन्, “आगामी निर्वाचनको वातावरण बनाउने प्रयासस्वरूप दलहरूसँग सौहार्दपूर्ण संवाद सम्पन्न भएको छ।
निर्वाचनको आवश्यकतामा कसैको विमति छैन। सबै पक्षका चासो र चिन्ता सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सरकार कटिबद्ध छ। आ–आफ्नो ठाउँबाट निर्वाचनमा जुटौँ।”
प्रधानमन्त्रीले राजनीतिक दलहरूबिच विश्वास र सहकार्यको वातावरण निर्माण गर्न संवादलाई पहिलो महत्त्वपूर्ण कदमका रूपमा लिएको बताइन्।
संवादमा एमाले, कांग्रेस, माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी, लोसपा, जनमत, नागरिक उन्मुक्तलगायत दलका शीर्ष नेताहरू सहभागी थिए।