अमेरिकासँग भिड्दै नेपाल, यस्तो छ दुई टोलीको अवस्था
दुबई । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली टोलीका लागि अंकतालिकामा माथि उक्लने अवसरका रूपमा हेरिएको छ।
हाल अंकतालिकामा नेपाल सातौँ स्थानमा रहेको छ। उसले १६ खेलमा ५ जित, ९ हार र २ खेल नतिजाविहीन खेलेको छ। अर्कोतर्फ, उत्कृष्ट फर्ममा रहेको अमेरिका २० खेलमा १४ जित र ६ हारसहित दोस्रो स्थानमा छ।
नेपालले पछिल्ला चार एकदिवसीय खेलमध्ये तीनमा जित निकालेको छ। यसले टोलीको आत्मविश्वास उच्च बनाएको छ।
कप्तान रोहितकुमार पौडेल र उपकप्तान दिपेन्द्रसिंह ऐरी नेतृत्वको टोलीले हालै देखाएको प्रदर्शनले समर्थकमा आशा जगाएको छ।
नेपालका लागि कुशल भुर्तेल, भीम सर्की, कुशल मल्ल, सन्दीप लामिछाने, सोमपाल कामी र गुलशन झा निर्णायक खेलाडी हुने अपेक्षा गरिएको छ। बलिङमा सन्दीप लामिछाने र करण केसीको जोडीले प्रारम्भिक विकेट लिन सक्ने विश्वास गरिएको छ।
अमेरिकाका लागि कप्तान मोनान्क पटेल हाल लिगका उत्कृष्ट ब्याट्सम्यान मध्ये एक हुन्। उनले २० खेलमा ७४६ रन बनाएका छन्। बलिङतर्फ नोस्तुश केन्जिगे ले २९ विकेट लिँदै बलियो प्रदर्शन गरिरहेका छन्।
नेपाल र अमेरिकाबीच अहिलेसम्म खेलेका नौ एकदिवसीय खेलमध्ये दुवैले चार–चार जित हात पारेका छन् भने एक खेल अनिर्णित भएको छ। त्यसैले आजको भिडन्त दुवैका लागि बराबरी तोड्ने निर्णायक खेलका रूपमा हेरिएको छ।
यस श्रृंखलामा नेपालले अमेरिकाविरुद्ध खेल सकेपछि अक्टोबर ३० मा आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि नोभेम्बर १ मा पुनः अमेरिका र नोभेम्बर ५ मा पुनः यूएईसँग खेल्ने तालिका रहेको छ।
