गृहमन्त्री ओमप्रकाश अर्याल र पूर्वराष्ट्रपति डा. रामवरण यादवबीच भेटवार्ता

 गृहमन्त्री ओमप्रकाश अर्याल र पूर्वराष्ट्रपति डा. रामवरण यादवबीच भेटवार्ता

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवसँग भेटवार्ता गर्नुभएको छ।

प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा निर्वाचनको वातावरण बनाउन विभिन्न पक्षसँग संवाद गर्दै आएका गृहमन्त्री अर्यालले आज ललितपुरको बागडोलस्थित डा. यादवको निवासमै पुगेर उहाँसँग राजनीतिक तथा समसामयिक विषयमा कुराकानी गर्नुभएको हो।

भेटवार्ताका क्रममा गृहमन्त्री अर्यालले डा. यादवको स्वास्थ्य अवस्था बारे जानकारी लिनुका साथै भदौ २३ र २४ गतेका घटनाले पारेको असरबारे छलफल गर्नुभएको थियो।

संक्षिप्त भेटपछि दुवैबीच आगामी निर्वाचन तयारी, जेनजी आन्दोलनको कार्यादेशअनुसार सरकारी सेवामा पारदर्शिता र प्रभावकारिता बढाउने विषय, र राजनीतिक स्थिरता सम्बन्धमा पनि कुराकानी भएको थियो।

गृहमन्त्री अर्यालले सरकार निर्वाचनलाई “अर्जुनदृष्टि” बनाएर अघि बढिरहेको उल्लेख गर्दै पूर्वराष्ट्रपति यादवलाई अभिभावकको भूमिकामा रहँदै समाजका सबै पक्षलाई निर्वाचनतर्फ प्रेरित गरिदिन अनुरोध गर्नुभयो।

डा. यादवले पनि प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले निर्वाचनका लागि वातावरण बनाउन थालेका प्रयासको सह्राहना गर्नुभयो। उनले पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा बनेको तटस्थ सरकारले निष्पक्ष चुनाव गराउन सक्ने विश्वास व्यक्त गर्दै भने,
“यो संविधान र लोकतान्त्रिक प्रणालीलाई बचाउँदै अनिश्चितताको अन्त्य गर्न निर्वाचनबाहेक अर्को सुरक्षित बाटो छैन। निर्वाचनलाई अर्जुनदृष्टि मानेर अघि बढ्नुपर्छ।”

पूर्वराष्ट्रपतिले विगतमा खिलराज रेग्मी नेतृत्वको सरकारले कठिन परिस्थितिमा पनि चुनाव सम्पन्न गरेको सन्दर्भ स्मरण गर्दै अहिले पनि सबै पक्षले विश्वासका साथ अघि बढ्नुपर्ने बताउनुभयो।

डा. यादवले थप्नुभयो, “अहिले चुनाव हुन सकेन भने भोलि ठूलो संकट आउन सक्छ। प्रक्रिया डिरेल भयो भने प्यान्डोरा बक्स खुल्ने सम्भावना रहन्छ। तपाईंहरूले जे गरिरहनुभएको छ, त्यो ठीक दिशामा छ।”

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *