सहकारीमा सुधार र सुशासन सम्भव छ : अध्यक्ष पाठक
साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का अध्यक्ष खेम बहादुर पाठकले सहकारी क्षेत्रमा सुधार र सुशासन सम्भव रहेको बताउनुभएको छ ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को आयोजनामा कैलालीमा करिब ५ सय जनाको सहभागितामा भएको सहकारी आम प्रशिक्षण कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष पाठकले केही सहकारीमा देखिएको कमिकमजोरी सुधार गर्दै सुशासन स्थापित गर्न साथै सहकारी क्षेत्र प्रतिको नकारात्मक धारणा बदल्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष समेत रहनु भएका पाठकले कृषि सहकारीहरु, उत्पादनमा लागेका सहकारीहरु, सञ्चालक, कर्मचारी र सदस्यहरु सचेत रहेका सहकारीहरु अहिलेपनि आफ्नो आर्थिक उन्नती प्रगति गर्न सफल रहेको स्मरण गराउँदै एक दुई विग्रेका सहकारी र संस्था देखाएर अभियान नै विग्रीयो भन्ने भाष्यको निर्माण नगर्न समेत सबैमा अनुरोध गर्नुभयो ।
सहकारीले सदस्यको जीवनमा आर्थिक उन्नती, सामाजिक पहिचान र सचेतनाको रुपान्तरणमा खेलेको भूमिका गहिरो ढंगबाट अध्ययन गरेर मात्र बोल्न र धारणा बनाउन समेत उहाँले सबैमा अपिल गर्नुभयो ।
उत्पादन मा लागेका सहकारीहरु अहिलेपनि विना कुनै समस्या सञ्चालन भइरहेको भन्दै उहाँले सहकारी अभियन्ताहरुपनि सुर्धनु पर्नेमा जोड दिनुभयो ।

उहाँले आफु रहेको संस्था कस्तो छ, कस्तो भयो कसरी सञ्चालन भईरहेको छ भनेर थाहा नपाउने सञ्चालक, थाहा नदिने कर्मचारी र थाहा पाउन नखोज्ने सदस्यहरु बन्ने होइन भन्दै सबैले आफु सदस्य वा जिम्मेवारीमा रहेको संस्थाको बारेमा पूर्ण जानकारी लिन समेत उहाँले अनुरोध गर्नुभयो ।
सदस्य र सञ्चालकवीच चिनजान नहुने, कर्मचारी, सञ्चालक र सदस्यवीच चिनजान नहुने कुनै संस्था छ भने त्यो समस्यामा पर्न सक्छ भन्दै उहाँले यसका लागि सबैले आ आफ्नो स्थानबाट आफै सचेत भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का सञ्चालक सुखदेव न्यौपानेले सहकारीले समुदायमा ल्याएको जागरण र परिवर्तनका बारेमा सबैलाई सुनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले साना किसान र कृषि सहकारीहरु उत्पादनमा लागेको स्मरण गराउँदै उत्पादनले स्थाइत्व दिने भन्दै यस तर्फ अगाडि बढेका सहकारी अत्यन्तै राम्रोसंग सञ्चालन भइरहेको समेत बताउनुभयो ।
उहाँले आफ्नो संस्था आफै बनाउने भन्दै सबैले आफ्नो जिम्मेवारी र दायित्व प्रभावकारी रुपमा निर्वाह गर्न सके सबै कुरा सुधार हुँदै जाने समेत उहाँले बताउनुभयो ।
यसैगरी कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघका सञ्चालक तथा सुदूरपश्चिम प्रदेशको कृषि संघका प्रदेश अध्यक्ष धर्म कुँवरले सहकारी क्षेत्रको योगदान हेर्न गाउँवस्तीमा आउनुपर्ने बताउनुभयो ।
उहाँले सहकारी राम्रोसंग सञ्चालन गर्न सक्ने हो भने सुधारको मुख्य स्रोत सहकारी बन्ने भन्दै आफुहरुले सहकारी मार्फत धेरै सुधारका काम गरिरहेको बताउनुभयो ।
यसैगरी साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का मुख्य प्रवन्ध लिलाधर धितालले सहकारी नीति, विधि र पद्धतीमा सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले पछिल्लो समय निर्माण भएका कानुन र त्यसको परिपालनमा कसको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा समेत धारणा राख्नुभएको थियो ।
यसैगरी साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को शाखा कार्यालय अत्तरीयाका शाखा प्रमुख हिम्मत बहादुर बमले शाखा कार्यालय मार्फत सम्पादन भएका काम र कार्यक्रमबारे जानकारी गराउनुभएको थियो ।
उहाँले शाखाले संस्था मार्फत सदस्यहरुको आय आर्जन बढाउने, आर्थिक उन्नती प्रगतिमा सहभागि गराउने कार्यमा आफुहरु दत्तचित्त भएर लागिरहेको बताउनुभयो ।
कार्यक्रम प्रदेश कृषि संघ, जिल्ला संघ र प्रारम्भिक संस्थाहरुको अगुवाई तथा संयोजनमा सम्पन्न भएको थियो ।
