भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा दुई कम्पनीको महत्वपूर्ण योगदान
काठमाडौं — नेपाल सरकारद्वारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा निजी क्षेत्रबाट उल्लेखनीय योगदान प्राप्त भएको छ।
आइतबार, मंसिर ७, २०८२ मा लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले कोषमा रु १,०१,००,००० (एक करोड एक लाख) रकम उपलब्ध गराएको छ। उक्त रकमको भौचर कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरेका हुन्।
यसअघि, मंसिर ३ गते एफवान सफ्ट ग्रुपअन्तर्गतका एफवान सफ्ट इन्टरनेशनल, इसेवा लिमिटेड र फोनपे पेमेन्ट सर्भिस लिमिटेडका कर्मचारी तथा समूहको संयुक्त योगदानस्वरूप रु ७५,००,००० (पचहत्तर लाख) रकम बराबरको चेक अर्थमन्त्री खनाललाई समूहका अध्यक्ष सिद्धान्त ठकुरीले हस्तान्तरण गरेका थिए।
दुवै योगदानप्रति नेपाल सरकारका तर्फबाट अर्थमन्त्री खनालले विशेष धन्यवाद ज्ञापन गरेका छन्।
सरकारका अनुसार मंसिर ७, २०८२ सम्म पुनर्निर्माण कोषमा जम्मा भएको रकम रु ९ करोड ३० लाख पुगेको छ।
