नागढुंगा-नौबिसे सडक दैनिक ५ घण्टा बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

 नागढुंगा-नौबिसे सडक  दैनिक ५ घण्टा बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं र धादिङले यही मंसिर २४ देखि पुस १ गतेसम्म सडक बन्द हुने संयुक्त सूचना प्रकाशित गरेका छन् ।

सूचना अनुसार नागढुङ्गादेखि पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा यही मङ्सिर २४ गतेदेखि आगामी पुस १ गतेसम्म बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म सडक आवागमन बन्द हुनेछ ।

सो समयमा काठमाडौंबाट नौबिसेतर्फ जाने सवारी साधन नागढुङ्गा चेकपोस्टमा रोकिने छन्। सूचनामा अत्यावश्यकीय प्रकृतिका एम्बुलेन्स, सुरक्षा निकायका सवारी साधन, दमकल, शव वाहन जस्ता सवारीसाधनको आवागमन ट्राफिक प्रहरीबाट सहजीकरण हुने जनाइएको छ । ट्राफिक प्रहरीले वैकल्पिक सडकमार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

मुग्लिङबाट काठमाडौंतर्फ आउने सवारी साधन खानीखोला (नौबिसे), जुंगेखोला (थाक्रे), गल्छी–गजुरी खण्डको लागि गल्छी, बैरेनी र मासटारमा रोकिने छन् । साना तथा मझौला सवारीसाधनले अत्यावश्यक अवस्थामा वैकल्पिक मार्ग प्रयोग गर्न सक्नेछन् । सूचना अनुसार सीतापाईला भिमढुङ्गा, रामकोट धार्के सडक, सामाखुसी टोखा–छहरे सडक वैकल्पिक रुपमा प्रयोग गर्न सकिने छ ।

रोकिएका सबै सवारीसाधनलाई दिउँसो साढे ३ बजेपछि मात्र छाडिने सूचनामा उल्लेख छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरोकारवाला सबैलाई केही दिन पहिले आमन्त्रण गरी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको थियो ।

निर्माण व्यवसायी र सम्बन्धित आयोजनाले सवारीसाधन निरन्तर आवतजावत हुँदा सडक निर्माणले गति लिन नसकेको बताएका थिए ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *