तेस्रो क्योकुशिन अलाइट अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता माघ २३ देखि
काठमाडौँ । क्योकुशिन अलाइड कराँते संघ नेपालको आयोजनामा तेस्रो क्योकुशिन अलाइड अन्तर्राष्ट्रिय तथा छैटौँ मेयरकप राष्ट्रिय कराँते च्याम्पियनसिप माघ २३ र २४ गते काठमाडौँमा आयोजना हुने भएको छ।
सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिता दुई दिनसम्म दक्षिणकाली नगरपालिका वडा नं.१ चाल्नाखेलमा बताएको छ ।
प्रतियोगिताअन्तर्गत छैटौँ मेयर कप राष्ट्रिय, दशौँ केभिन रोहन मेमोरियल च्याम्पियनसिप तथा डान टेस्ट कार्यक्रम २०२६ समावेश गरिएको छ।
प्रतियोगिता पुरुष तथा महिला विभिन्न तौल समूहमा सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगिताका खेलहरू अन्तर्राष्ट्रिय क्योकुशिन कराँते नियमअनुसार सञ्चालन गरिनेछ भने निर्णायकहरू अनुभवी तथा प्रमाणित रेफ्री रहनेछन्।
प्रतियोगितामा नेपालका सातै प्रदेशबाट विभिन्न डोजोका करिब २०० खेलाडी सहभागी हुनेछन्। साथै भारत, अस्ट्रेलिया र बंगलादेशबाट समेत खेलाडीहरूको सहभागिता रहनेछ, जसले प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने आयोजकको विश्वास छ।
विजयी खेलाडीहरूलाई सिल्ड, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिनेछ। साथै सहभागी सबै खेलाडीलाई पनि मेडल वितरण गरिनेछ।
क्योकुशिन अलाइड कराँते संघ नेपालका प्रमुख बिनोद गुरुङ र संरक्षक कृष्ण गुरुङले प्रतियोगिताले नेपाली कराँते खेलाडीको क्षमता अभिवृद्धि गर्नुका साथै अन्तर्राष्ट्रिय अनुभव दिलाउने विश्वास व्यक्त गर्दै प्रतियोगिताको व्यवस्थापनमा कुनै समस्या नहुने बताएका छन्।
संघका अध्यक्ष बिनोद गुरुङले प्रतियोगितालाई सफल बनाउन सबै खेलप्रेमी, संघ–संस्था तथा सरोकारवालाहरूको सहयोग आवश्यक रहेको बताएका छन।
प्रतियोगितालाई व्यवस्थापन गर्न उषा केसी, राम कुमार नगरकोटी, लिला थापा मगर त्यसैगरी दिनेश कुमार नगरकोटी, रघुवर नेपाल, दिल बहादुर तामाङ, राजेश तामाङ, सन्तोष क्षेत्री र प्रेस सल्लाहकारमा छायाचन्द्र भण्डारी रहेका छन ।
