निर्वाचनमा चन्दा संकलनमा रोक, स्वेच्छिक सहयोग पनि बैंक खातामार्फत मात्र

 निर्वाचनमा चन्दा संकलनमा रोक, स्वेच्छिक सहयोग पनि बैंक खातामार्फत मात्र

Photo:Rajan Kafle

काठमाडौं । निर्वाचन आयोगले उमेदवार तथा राजनीतिक दलहरूले निर्वाचन प्रयोजनका लागि शुभेच्छुकहरूबाट स्वेच्छिक सहयोग लिन पाउने स्पष्ट पारेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रचलित कानुनको परिधिभित्र रहेर निर्वाचन प्रचारप्रसारका लागि सहयोग संकलन गर्न बाधा नपर्ने बताएका हुन् ।

प्रवक्ता भट्टराईका अनुसार उमेदवार वा दलले कसैलाई पनि निश्चित रकम तोकेर चन्दा माग्न भने पाउने छैनन् । उमेदवारले निर्वाचन प्रयोजनका लागि छुट्टै खाता खोल्नुपर्ने प्रावधान रहेको उल्लेख गर्दै प्रवक्ता भट्टराईले उक्त खातामा संकलित रकम व्यक्तिगत प्रयोजनमा खर्च गर्न नपाइने प्रष्ट पारे ।

“आफ्नै खातामा चन्दा उठाउन पाउने वा नपाउने कुरा गर्नुभएको छ । हामीसँग चन्दा ऐन छ । निर्वाचनको लागि, प्रचारप्रसारको लागि आफूलाई शुभेच्छुक, समर्थकबाट सहयोग लिने विषय छन् । निर्वाचन सहयोग लिने विषय छ । त्यसमा उमेदवारले, दलले मलाई यति सहयोग दिनुपर्छ, भनेर कसैलाई तोकेर माग्न पाइँदैन, स्वेच्छाले दिन चाहन्छौँ भने मेरो खाता नम्बर यो भनेर निर्वाचन प्रयोजनका लागि खोलेको खातामा लिन पाउँछ,” उनले भने ।

निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ कार्यलाई तीव्रता दिएको छ । प्रवक्ता भट्टराईले हालसम्म ८४ लाख ४० हजार थान मतपत्र छपाइ भइसकेको जानकारी दिए । छपाइ भएका मतपत्रहरूमध्ये सात हजार १३७ वटा बाकसहरू प्याकिङ भइसकेको आयोगले जनाएको छ ।

प्रवक्ता भट्टराईका अनुसार, हालसम्म ३२ वटा जिल्लाका लागि आवश्यक पर्ने मतपत्रको छपाइ र प्याकिङ कार्य पूर्णरूपमा सम्पन्न भइसकेको छ । आयोगले बाँकी जिल्लाहरूको मतपत्र छपाइ र व्यवस्थापनको काम पनि युद्धस्तरमा भइरहेको जनाएको छ । न्युज एजेन्सी नेपाल

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *