दक्षिणकालीमा छैटौँ मेयर कप कराते सुरु, २०० खेलाडी मैदानमा

 दक्षिणकालीमा छैटौँ मेयर कप कराते सुरु, २०० खेलाडी मैदानमा

काठमाडौँ। दक्षिणकाली नगरपालिकाको चाल्नाखेलमा शुक्रबारदेखि ‘छैटौँ मेयर कप तथा १०औं केभिन रोहन स्मृति उपत्यकाव्यापी च्याम्पियनशिप कराते प्रतियोगिता’ भव्य रूपमा सुरु भएको छ।

दक्षिणकाली नगरपालिका वडा नं. १ स्थित खेलमैदानमा आयोजित एक समारोहका बीच नगरप्रमुख मोहन बहादुर बस्नेतले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगरप्रमुख बस्नेतले पवित्र धार्मिक एवं पर्यटकीय स्थल दक्षिणकालीमा यस्तो स्तरको खेलकुद प्रतियोगिता आयोजना हुनु गौरवको विषय भएको बताए। उनले भने, “खेलकुद केवल व्यक्तिगत स्वास्थ्यका लागि मात्र होइन, यसले राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन महत्त्वपूर्ण भूमिका खेल्छ। हाम्रा खेलाडीहरू अन्तर्राष्ट्रिय मञ्चसम्म पुग्न सफल हुन् भन्ने मेरो शुभेच्छा छ।”

नेपाल क्योकुसिन काई कान अलाइड कराते संघका अध्यक्ष विनोद गुरुङका अनुसार प्रतियोगितामा उपत्यकाव्यापी विभिन्न तौल समूहका २०० जना महिला तथा पुरुष खेलाडीहरू सहभागी छन्। विजयी खेलाडीहरूलाई सिल्ड, मेडल, प्रमाणपत्रका साथै नगद पुरस्कार प्रदान गरिनेछ। साथै, सहभागी सबै खेलाडीहरूलाई सम्मान स्वरूप मेडल वितरण गरिने आयोजकले जनाएको छ।

केभिन रोहनको सम्झनामा खेलकुद

यो प्रतियोगिता कृष्ण गुरुङ र लिला थापा मगरका सुपुत्र स्व. केभिन रोहन गुरुङको स्मृतिमा आयोजना गरिएको हो। सन् २००१ मा जन्मिएका केभिनको ७ वर्षको उमेरमा सन् २००८ मा असामयिक निधन भएको थियो। उनको सम्झनामा स्थापित केभिन रोहन मेमोरियल इको फाउन्डेसनले शिक्षा, स्वास्थ्य र खेलकुद जस्ता विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ।

कार्यक्रममा विशेष अतिथि उपप्रमुख बसन्ती डंगोल, अन्तर्राष्ट्रिय क्योकुसिन कैकान एलाइड कराते एसोसिएसनका उपाध्यक्ष पिटर होगार्थ, कीर्तिपुर नगरपालिकाका नगरप्रमुख कृष्णमान डंगोल, डि.ए.भी. कलेजका चेयरमेन अनिल केडिया लगायतको उपस्थिति थियो।

त्यसैगरी, फाउन्डेसनका संस्थापक कृष्ण गुरुङ, लिला थापा मगर, वडा नं. १ का अध्यक्ष जय थापा मगर, फुल कन्ट्याक कराते कोच कुमार श्रेष्ठ, क्रिष्टी गुरुङ, अनु गुरुङ लगायतले कार्यक्रममा आतिथ्यता ग्रहण गरेका थिए।

शनिबारसम्म चल्ने यस प्रतियोगिताको संयोजन नेपाल प्रेस युनियनका सचिव तथा संयोजन छायाचन्द्र भण्डारीले गरेका छन।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *