टी–ट्वान्टी विश्वकप २०२६ आजबाट, उद्घाटन खेलमा पाकिस्तान र नेदरल्यान्ड्स आमनेसामने
काठमाडौँ । आइसिसी पुरुष टी–ट्वान्टी विश्वकपको १० औँ संस्करण आज (शनिबार) बाट भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु भएको छ। विश्वका २० उत्कृष्ट राष्ट्रहरू सहभागी यस प्रतियोगितामा आज उद्घाटनका दिन तीनवटा महत्वपूर्ण खेलहरू हुँदैछन्।
आजको पहिलो खेलमा श्रीलंकाको कोलम्बोमा नेदरल्यान्ड्स र पाकिस्तान भिड्दै छन् भने भारतको कोलकातामा वेस्ट इन्डिज र स्कटल्यान्ड बीच प्रतिस्पर्धा हुनेछ। आजै साँझ हुने तेस्रो खेलमा आयोजक भारतले अमेरिकाको सामना गर्ने तालिका रहेको छ।
नेपालको तयारी र पहिलो चुनौती
नेपाली टोली यतिबेला मुम्बईमा आफ्नो अन्तिम तयारीमा व्यस्त छ। समूह ‘सी’ मा रहेको नेपालले आफ्नो पहिलो खेल भोलि (आइतबार) पूर्व विजेता इंग्ल्यान्ड सँग खेल्दै विश्वकपको यात्रा सुरु गर्नेछ।
नेपालको खेल तालिका :
फेब्रुअरी ८: नेपाल विरुद्ध इंग्ल्यान्ड (मुम्बई)
फेब्रुअरी १२: नेपाल विरुद्ध इटाली (मुम्बई)
फेब्रुअरी १५: नेपाल विरुद्ध वेस्ट इन्डिज (मुम्बई)
फेब्रुअरी १७ : नेपाल विरुद्ध स्कटल्यान्ड (मुम्बई)
‘हामीले पछिल्लो केही महिना निकै कडा मिहिनेत गरेका छौँ। विश्वका उत्कृष्ट टोलीहरूसँग खेल्न पाउनु हाम्रा लागि अवसर र चुनौती दुवै हो,’ नेपाली कप्तान रोहित पौडेलले उद्घाटन अघि बताएका छन्।
विश्वकपको संरचना
कुल टोली २० (पाँच-पाँच टोलीका ४ समूह)
कुल खेल: ५५
फाइनल : मार्च ८ (अहमदाबाद, भारत)
नेपाली खेल प्रशंसकहरूमाझ निकै उत्साह देखिएको छ, विशेषगरी भोलि मुम्बईको वानखेडे स्टेडियममा हुने इंग्ल्यान्ड विरुद्धको खेललाई लिएर।
