झापा–२ मा शीर्ष नेताको भिडन्त, राष्ट्रिय चासोको केन्द्रमा निर्वाचन

 झापा–२ मा शीर्ष नेताको भिडन्त, राष्ट्रिय चासोको केन्द्रमा निर्वाचन

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसँगै झापा क्षेत्र नम्बर–२ राष्ट्रिय राजनीतिको केन्द्रमा परेको छ। अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट सभामुख र उपसभामुख चयन भएपछि चर्चामा आएको यो क्षेत्रमा यसपटक पनि शीर्ष नेता तथा पूर्वपदाधिकारीबीच प्रतिस्पर्धा हुँदा चुनावी माहोल झन् रोचक बनेको छ।

यस क्षेत्रमा कुल १८ जना उम्मेदवार मैदानमा छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे पुनः चुनावी प्रतिस्पर्धामा छन्। २०७९ सालको निर्वाचनमा उनले २८ हजार ७१६ मतसहित जित हात पारेका थिए। संगठनात्मक रूपमा बलियो मानिएको एमालेको आधार उनलाई पुनः प्रमुख दाबेदारका रूपमा उभ्याइरहेको छ।

उनका मुख्य प्रतिस्पर्धीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेत्री एवं पूर्वउपसभामुख इन्दिरा रानामगरलाई हेरिएको छ। समानुपातिक प्रणालीबाट संसद् छिरेर उपसभामुख बनेकी रानामगर यसपटक प्रत्यक्ष निर्वाचित हुने लक्ष्यसहित मत मागिरहेकी छन्। सामाजिक अभियानबाट राजनीतिमा उदाएकी उनी वैकल्पिक राजनीतिक धारको प्रतिनिधि मानिन्छिन्।

अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा दोस्रो स्थान हासिल गरेका भद्रप्रसाद नेपाल (स्वागत) यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टीको टिकट लिएर मैदानमा छन्। उनले २०७९ मा २६ हजार ४५५ मत प्राप्त गरेका थिए, जसले यसपटकको प्रतिस्पर्धालाई त्रिपक्षीय बनाउन सक्ने आकलन गरिएको छ।

यस्तै, नेपाली कांग्रेसकी नेत्री एवं पूर्वमन्त्री सरिता प्रसाईं तथा नेकपाकी नेत्री एवं पूर्वमन्त्री धर्मशीला चापागाईं पनि चुनावी दौडमा छन्। यसअघिको जस्तो दलगत गठबन्धन नहुँदा मत विभाजन हुने र त्यसले परिणाममा ठूलो प्रभाव पार्ने विश्लेषण गरिएको छ।

बिर्तामोड र अर्जुनधारा नगरपालिका, कनकाइ नगरपालिकाका दुई वडा तथा बुद्धशान्ति गाउँपालिकाका चार वडा समेटिएको यस क्षेत्रमा कूल एक लाख ४७ हजार ५२२ मतदाता छन्। तीमध्ये १३ हजार ४३१ जना नयाँ मतदाता हुन्। नयाँ मतदाताको निर्णयले अन्तिम परिणाम निर्धारण गर्न सक्ने बताइन्छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार विभिन्न दल तथा स्वतन्त्र गरी १८ जना उम्मेदवारले उम्मेदवारी दिएका छन्। शीर्ष नेताको प्रतिष्ठासँग जोडिएको यो क्षेत्रको परिणामले राष्ट्रिय राजनीतामा समेत सन्देश दिने अपेक्षा गरिएको छ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *