हेटौँडामा औद्योगिक गतिविधि बढ्यो, दुई उद्योग सञ्चालनमा
काठमाडौँ । मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा उद्योग थपिने क्रम जारी छ । पछिल्लोपटक यहाँ दुई वटा उद्योग सञ्चालनमा आएका छन् ।
माघको पहिलो सातादेखि प्रिसिअस ओइष्ट रिफायनरी प्रालिले पुराना इलेक्ट्रोनिक्स सामान प्रशोधन गरी धातु उत्पादन गर्ने उद्योगबाट परीक्षण उत्पादन सुरु गरेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालले जानकारी दिए । उनका अनुसार यस्तो प्रकृतिको उद्योग सम्भवतः नेपालमै पहिलोपटक सञ्चालनमा आएको हो ।
त्यस्तै, राधाकृष्ण सेनथेटिक प्रालिले गत कात्तिकदेखि प्लाष्टिकको बोरा उत्पादन सुरु गरिसकेको छ ।
कार्यालयका अनुसार हाल औद्योगिक क्षेत्रभित्र १३ उद्योग निर्माणाधीन छन् भने केही समयदेखि बन्द रहेका उद्योगमध्ये नेपाल ब्रोरी नयाँ व्यवस्थापनसहित छिट्टै सञ्चालनमा आउने तयारीमा छ ।
हेटौँडा औद्योगिक क्षेत्रमा हाल १४७ उद्योग तथा प्रतिष्ठानले जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गरिरहेका छन् ।
