टी–२० विश्वकप : कडा टक्कर दिए पनि इंग्ल्याण्डविरुद्ध नेपाल पराजित
England’s Will Jacks celebrates with teammates the wicket of Nepal’s Kushal Bhurtel during the T20 World Cup cricket match between England and Nepal in Mumbai, India, Sunday,Feb. 8, 2026.(AP Photo/Rafiq Maqbool)
काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत आइतबार भएको रोचक खेलमा इंग्ल्याण्डसँग नेपाल पराजित भएको छ । भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा भएको खेलमा इंग्ल्याण्डसँग नेपाल ४ रनले पराजित भयो ।
इंग्ल्याण्डले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८० रनमा समेटियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन बनाए । २९ बलको सामना गरेका उनले छ चौका र एक छक्का प्रहार गरे ।
त्यसैगरी, लोकेश बमले ३९ रन बनाए । २० बलको विस्फोटक पारी खेलेका बमले चार चौका र दुई छक्का प्रहार गरे । त्यस्तै, कप्तान रोहित पौडेलले पनि ३४ बलमा ३९ रन जोडे । सो क्रममा उनले दुई चौका र दुई छक्का प्रहार गरे ।
बलिङतर्फ इंग्ल्याण्डका लियाम डसनले दुई विकेट लिए । त्यस्तै, साम करन, विल ज्याक्स, ल्युल वूड र जोफ्रा आर्चरले समान एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८४ रन बनायो । इंग्ल्याण्डका ज्याकब बेथेलले सर्वाधिक ५५ रन बनाए । ३५ बलको सामना गरेका उनले चार चौका र चार छकका प्रहार गरे ।
त्यसैगरी, ह्यारी ब्रुकले ३२ बलमा ५३ रन जोडे । यस क्रममा उनले चार चौका र तीन छक्का प्रहार गरे । विल ज्याक्सले १८ बलमा ३९ रनको विस्फोटक पारी खेले । यस क्रममा उनले एक चौका र चार छक्का प्रहार गरे ।
बलिङतर्फ नेपालका नन्दन यादव र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिए । त्यस्तै, सन्दीप लामिछाने र शेर मल्लले समान एक विकेट लिए ।
विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । नेपालको समूहमा इङ्ल्यान्डसँगै वेस्ट इण्डिज, इटाली र स्कटल्यान्ड छन् ।
