डिजिटल नेपालका लागि चुनावी बहस, फागुन ६ मा उम्मेदवारसँग भर्चुअल संवाद हुने
काठमाडौँ । आइसिटी फाउन्डेसन नेपाल र लिभिङ विथ आइसिटीको संयुक्त पहलमा लुम्बिनी प्रदेशमा ‘भर्चुअल डिजिटल लिडरसीप डायलग’ आयोजना हुने भएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आयोजना गर्न लागिएको यो राष्ट्रिय स्तरको संवाद श्रृंखला सातै प्रदेशमा सञ्चालन गरिनेछ, जसको सुरुवात लुम्बिनी प्रदेशबाट हुन लागेको हो।
यस भर्चुअल संवादमा विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले आफ्ना चुनावी घोषणापत्रमा समेटेका सूचना तथा सञ्चार प्रविधि (आइसिटी) सम्बन्धी एजेन्डाहरू प्रस्तुत गर्नेछन्। विशेष गरी डिजिटल रूपान्तरण, ई–गभर्नेन्स, पारदर्शिता, युवा रोजगारी, स्टार्टअप र कृषिमा प्रविधिको प्रयोग जस्ता विषयमा छलफल केन्द्रित रहने आयोजकले जनाएको छ।
कार्यक्रममा युवा, नागरिक समाज, सञ्चारमाध्यम, महिला, सीमान्तकृत समुदाय र अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहनेछ। सहभागीहरूले उम्मेदवारहरूलाई उनीहरूको नीति र डिजिटल सोचबारे प्रत्यक्ष प्रश्न सोध्न र विचार साटासाट गर्न पाउनेछन्। यसले निर्वाचन प्रक्रियामा नागरिकको सक्रिय सहभागिता र समावेशिता प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
लुम्बिनी प्रदेशका लागि भर्चुअल संवाद फागुन ६ गते साँझ ५:३० बजेदेखि जूममार्फत आयोजना हुनेछ।
आयोजकका अनुसार सीमित सिट संख्या रहेकाले इच्छुक व्यक्तिहरूले अनलाइन दर्तामार्फत आफ्नो सहभागिता सुनिश्चित गर्न सक्नेछन्। यो संवादले उम्मेदवारहरूका डिजिटल प्रतिवद्धताहरूलाई सार्वजनिक बहसमा ल्याउन र मतदाताहरूलाई विवेकपूर्ण निर्णय लिन सहयोग पुर्याउने विश्वास गरिएको छ।
