प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध शपथ ग्रहण आजै
काठमाडौंं । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद (डीपी) अर्याललाई नयाँ सभामुखको रूपमा निर्विरोध निर्वाचित गरेको छ। बैठकको अध्यक्षता गरिरहनुभएका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्यालको एकल उम्मेदवारी परेकाले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो।
सदनमा रास्वपाको भारी बहुमत (१८२ सांसद) भएका कारण प्रतिपक्षी दलहरूले सभामुख पदमा उम्मेदवारी नै दिएनन्। २७५ सदस्यीय प्रतिनिधिसभामा सत्तापक्षको स्पष्ट पकड देखिएकाले प्रतिनिधिसभा नियमावलीको नियम ७ बमोजिम एकल उम्मेदवारी दर्ता भएसँगै अर्याल सर्वसम्मत चयन हुनुभएको हो।
नवनिर्वाचित सभामुख अर्यालको शपथ ग्रहण आजै (चैत २२ गते) दिउँसो २:३० बजे हुने तय भएको छ। राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ खुवाउनुहुनेछ। कार्यभार सम्हाल्नुअघि सभामुखले राष्ट्रपति समक्ष शपथ लिनुपर्ने संवैधानिक व्यवस्था छ।
सभामुख चयनको प्रक्रिया टुङ्गिएसँगै अब उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढ्नेछ। नियमानुसार सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्ने प्रावधान छ। यद्यपि, एकल उम्मेदवारी परेको खण्डमा एउटै दलको पनि हुन सक्ने सम्भावनालाई संसद् सचिवालयले खुला राखेको छ।
सभामुख र उपसभामुख दुवै संवैधानिक परिषद्को पदेन सदस्य रहने व्यवस्था छ। प्रधानन्यायाधीश, अख्तियार र निर्वाचन आयोग जस्ता महत्वपूर्ण निकायका पदाधिकारी नियुक्तिमा सिफारिस गर्ने यस शक्तिशाली परिषद्मा अर्यालको प्रवेशले अबको राजनीतिक र प्रशासनिक नियुक्तिमा नयाँ प्रभाव पार्ने देखिन्छ।
प्रतिनिधिसभामा रास्वपा १८२ सिटसहित सबैभन्दा ठूलो दलका रूपमा छ भने नेपाली कांग्रेस ३८, एमाले २५, नेकपा १७, श्रम संस्कृति ७ र राप्रपा ५ सिटमा रहेका छन्। यो गणितीय समीकरणले आगामी दिनमा संसदीय प्रक्रिया र कानुन निर्माणमा रास्वपाको भूमिका निर्णायक हुने छ।
