अब हप्तामा दुई दिन सरकारी बिदा, कार्यालय समय ९-५

 अब हप्तामा दुई दिन सरकारी बिदा, कार्यालय समय ९-५

काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालयको कार्यसञ्चालन समयमा हेरफेर गर्दै अब बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ। यसअघिको १०-५ को समयलाई परिवर्तन गरी कर्मचारीहरूलाई बिहान एक घण्टा छिटो कार्यालय बोलाउने सरकारको तयारी छ।

इन्धन संकट र आर्थिक मितव्ययितालाई ध्यानमा राख्दै सरकारले भोलि (चैत २३ गते) देखि लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ। यो नियम सरकारी कार्यालयका साथै शैक्षिक संस्थाहरूमा पनि समान रूपमा लागू हुनेछ।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको विश्वव्यापी समस्या र बढ्दो मूल्यका कारण इन्धन खपत घटाउन यो कदम चालिएको हो। हप्तामा दुई दिन बिदा दिँदा सरकारी सवारी साधनको प्रयोग र इन्धन खर्चमा उल्लेख्य कमी आउने विश्वास लिइएको छ।

नयाँ कार्यालय समय (९-५) शैक्षिक संस्था बाहेकका सरकारी कार्यालयहरूमा मात्र लागू हुनेछ। यद्यपि, दुई दिने बिदाको प्रावधान भने विद्यालय र विश्वविद्यालयहरूले पनि अनिवार्य पालना गर्नुपर्नेछ, जसले गर्दा विद्यार्थी र शिक्षकहरूले पनि हप्तामा दुई दिन बिदा पाउनेछन् ।

मन्त्रिपरिषद्ले यो निर्णय आजै गरे पनि कार्यान्वयन भने भोलि सोमबारदेखि नै सुरु हुनेछ। आकस्मिक रूपमा आएको यो परिवर्तनले सेवाग्राही र कर्मचारीहरूमा केही अन्योल सिर्जना गरे पनि सरकारले यसलाई राष्ट्रिय आवश्यकताको रूपमा व्याख्या गरेको छ।

बिहान एक घण्टा थप समय कार्यालय सञ्चालन गर्दा हप्ताको पाँच दिनमा सेवाग्राहीले पाउने सुविधामा कमी नआउने सरकारको दाबी छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *