ट्राफिक लाइट मिच्नेलाई काठमाडौंमा ‘अन द स्पट’ कारबाही

 ट्राफिक लाइट मिच्नेलाई काठमाडौंमा ‘अन द स्पट’ कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियमको कार्यान्वयनलाई थप कडा बनाउँदै ट्राफिक प्रहरीले ‘ट्राफिक लाइट’ (बत्ती) उल्लंघन गर्नेहरूमाथि कारबाही तीव्र पारेको छ। शनिबार (चैत २१ गते) बबरमहल क्षेत्रमा रहेका दुईवटा ट्राफिक लाइटको पालना नगरी सवारी साधन गुडाउने चालकहरूलाई प्रहरीले केही मिटर पर बिजुलीबजारमा रोकेर धमाधम कारबाही प्रक्रिया अघि बढाएको हो।

विशेषगरी रातो बत्ती बलेको अवस्थामा सवारी साधन नरोकी अघि बढ्ने प्रवृत्ति बढेपछि ट्राफिक प्रहरीले यस्तो कदम चालेको जनाएको छ। बबरमहलमा नियम मिचेर निस्किएका सवारीलाई बिजुलीबजारमा कुरेर बसेको प्रहरी टोलीले नियन्त्रणमा लिँदा सडकमा केही समय सवारी चालक र प्रहरीबीच भनाभन समेत भएको थियो।

प्रहरीको यो सक्रियतालाई लिएर सर्वसाधारण र चालकहरूमा भने मिश्रित प्रतिक्रिया देखिएको छ। कतिपय चालकहरूले ट्राफिक प्रहरीले विना पूर्वसूचना लुकेर बसेर दुःख दिने नियत राखेको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूका अनुसार सडकमा ट्राफिक लाइटको समय र व्यवस्थापनमा सुधार नगरी जरिवाना मात्र असुल्नु न्यायोचित छैन।

अर्कोतर्फ, सचेत नागरिकहरूले भने प्रहरीको यस कदमको प्रशंसा गरेका छन्। ट्राफिक लाइटको पालना नगर्दा सडक दुर्घटनाको जोखिम बढ्ने र ट्राफिक जामको समस्या झनै जटिल हुने भन्दै नियम सबैले मान्नुपर्ने उनीहरूको तर्क छ। “ट्राफिक लाइट सजावटका लागि मात्र होइनन्, यसको सम्मान नगर्नेले कारबाही भोग्नैपर्छ,” एक प्रत्यक्षदर्शीले बताए।

उपत्यका ट्राफिक प्रहरी महाशाखाले भने सडक अनुशासन कायम राख्न र दुर्घटना न्यूनीकरण गर्न लाइटको पालना अनिवार्य रहेको स्पष्ट पारेको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *