उपसभामुखमा हर्क साम्पाङको पार्टीको पनि दाबि भने ‘७ कि १८९ भोट?’
काठमाडौं । प्रतिनिधि सभाको सभामुख चयन प्रक्रिया निर्विरोध टुङ्गिएसँगै अब उपसभामुख पदका लागि राजनीतिक रस्साकस्सी सुरु भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्क साम्पाङले उपसभामुख पदमा आफ्नो पार्टीले महिला उम्मेदवार खडा गर्ने घोषणा गरेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत उनले यसको औपचारिक जानकारी दिँदै अन्य दलहरूलाई ‘नयाँ कि पुराना’ रोज्ने भन्दै चुनौती समेत दिएका छन्।
साम्पाङले फेसबुकमा लेखेका छन्, “सभामुख निर्विरोध चयन हुनुभएकोमा बधाई दिइसक्यौँ। अब उपसभामुख चयनको निर्वाचन हुँदैछ। हामी महिला उम्मेदवार खडा गर्दैछौँ। हेरौँ नयाँले नयाँलाई भोट हाल्छ कि उही पुरानालाई। ७ भोट आउँछ कि १८९?” उनको यो प्रश्नले संसदमा रहेका नयाँ र पुराना दलहरूबीचको धु्रुवीकरणलाई संकेत गरेको छ।
यसअघि सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डिपी अर्याल निर्विरोध निर्वाचित हुने निश्चित भइसकेको छ। शुक्रबार उम्मेदवारी दर्ता गर्ने अन्तिम समयसम्म अर्यालको मात्र एकल उम्मेदवारी परेपछि आइतबार उनी विधिवत रूपमा सभामुख नियुक्त हुनेछन्। सभामुख सत्ता पक्षले पाएपछि उपसभामुख पद विपक्षी दललाई दिने संसदीय अभ्यास रहिआएको छ।
यही अभ्यासलाई ध्यानमा राख्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) ले पनि उपसभामुखमा आफ्नै उम्मेदवार उठाउने आन्तरिक तयारी तीव्र पारेका छन्। विपक्षी गठबन्धनभित्र साझा उम्मेदवार तय गर्ने प्रयास भइरहँदा हर्क साम्पाङको पार्टीले छुट्टै उम्मेदवार घोषणा गरेपछि प्रतिस्पर्धा रोचक हुने देखिएको छ।
संसदको अंकगणित र साम्पाङको ‘७ भोट कि १८९’ को चुनौतीले उपसभामुख निर्वाचनमा साना दलहरूको भूमिकालाई अर्थपूर्ण बनाएको छ। आइतबार सभामुखको घोषणा भएलगत्तै उपसभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक हुनेछ, जसमा श्रम संस्कृति पार्टीले कुन महिला उम्मेदवारलाई अघि सार्छ भन्ने चासोको विषय बनेको छ।
