१२ अर्ब बढीको ग्रेटर लुम्बिनी योजना अघि बढ्दै, विश्व बैंक सकारात्मक

 १२ अर्ब बढीको ग्रेटर लुम्बिनी योजना अघि बढ्दै, विश्व बैंक सकारात्मक

काठमाडौँ । बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखी रूपन्देही, कपिलवस्तु र नवलपरासी (बसुप) जिल्लाको बृहत् विकास गर्ने उद्देश्यले अघि सारिएको ‘ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना’ कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। १२ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी लागत अनुमान गरिएको यो महत्त्वाकांक्षी परियोजनाको संयुक्त अध्ययन प्रतिवेदन तयार भई स्वीकृतिका लागि विश्व बैंकको मुख्यालयमा पुगेको छ।

सहरी विकास मन्त्रालयको नेतृत्वमा अघि बढेको यो परियोजनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सम्बद्ध पालिकाहरूले सहकार्य गरिरहेका छन्। पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको विशेष पहलमा अघि बढाइएको यो परियोजनालाई पर्यटन प्रवर्द्धन, सांस्कृतिक संरक्षण र दिगो आर्थिक समृद्धिको ‘ड्रिम प्रोजेक्ट’ का रूपमा हेरिएको छ।

के छ परियोजनाको मुख्य योजना?

परियोजनाले पूर्वमा नवलपरासीको बर्दघाटदेखि पश्चिममा कपिलवस्तुको शिवराजसम्मको भूभागलाई ‘बृहत् लुम्बिनी क्षेत्र’ का रूपमा विकास गर्ने लक्ष्य लिएको छ। परियोजनाको पहिलो चरणमा लुम्बिनीको मायादेवी मन्दिर, कपिलवस्तुको तिलौराकोट र नवलपरासीको रामग्रामलाई मुख्य केन्द्र मानिएको छ।

सहरी विकास मन्त्रालयका सहसचिव नवराज प्याकुरेलका अनुसार, परियोजनाले एकीकृत सहरी विकास, पर्यटन पूर्वाधार सुधार, सांस्कृतिक सम्पदाको संरक्षण र स्थानीय रोजगारी सिर्जनामा जोड दिनेछ। उनले भने, “परियोजनामा अन्तर्राष्ट्रिय दातृ निकाय सकारात्मक देखिनु र स्थानीय पालिकाहरूको पूर्ण प्रतिबद्धता रहनुले यसको कार्यान्वयन सुनिश्चित भएको छ।”

पालिकाहरूको माग: एकीकृत विकास र बजेट

बुद्ध सर्किटमा रहेका रामग्राम, देवदह र लुम्बिनी सांस्कृतिक नगरपालिकाले परियोजनालाई थप प्रभावकारी बनाउन माग अघि सारेका छन्। यी पालिकाहरूले पर्यटन पूर्वाधार र स्थानीय विकासका लागि प्रतिपालिका ८ मिलियन अमेरिकी डलर (करिब १ अर्ब रुपैयाँ) बजेट सुनिश्चित गर्न विश्व बैंकसमक्ष संयुक्त ज्ञापनपत्र पेश गरेका छन्।

रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवसहितको टोलीले विकास निर्माणका कार्यहरू स्थानीय तहकै नेतृत्व र समन्वयमा हुनुपर्नेमा जोड दिएका छन्। उनीहरूको भनाइमा, सडक, ढल, पैदलमार्ग र सार्वजनिक सुविधा जस्ता भौतिक पूर्वाधारको विकास विना दिगो पर्यटन सम्भव छैन।

ऐतिहासिक महत्त्व र विश्वव्यापी चासो

सन् १८९६ मा अशोक स्तम्भको पुन:खोजपछि विश्वको ध्यान खिचेको लुम्बिनी आज विश्व शान्तिको केन्द्र बनेको छ। सन् १९९७ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको विकासमा जापानी वास्तुविद् केन्जो टांगेको गुरुयोजना कोशेढुङ्गा मानिन्छ। अब सोही जगमा टेकेर ग्रेटर लुम्बिनी परियोजनाले तिलौराकोट र रामग्राम जस्ता सम्पदालाई समेत जोडेर धार्मिक र सांस्कृतिक पर्यटनको नयाँ अध्याय सुरु गर्ने तयारी गरेको छ।

विश्व बैंकको मुख्यालयबाट प्रक्रिया अघि बढेपछि नेपाल सरकार र दातृ निकायबीच औपचारिक ऋण सम्झौता हुने मन्त्रालयले जनाएको छ। यो परियोजनाले नेपालको पर्यटन क्षेत्रमा कायापलट ल्याउने र स्थानीयस्तरमा आर्थिक चहलपहल बढाउने विश्वास लिइएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *