निर्वाचनमा अनिवार्य सहभागी हुन प्रधानमन्त्री सुशीला कार्कीको आह्वान

 निर्वाचनमा अनिवार्य सहभागी हुन प्रधानमन्त्री सुशीला कार्कीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने निर्वाचनमा अनिवार्य रूपमा सहभागी भई देशको भविष्य निर्माणमा भूमिका खेल्न सम्पूर्ण मतदातालाई आह्वान गरेकी छन्। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले देश पुनः एक ऐतिहासिक मोडमा आइपुगेको उल्लेख गरिन्।

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपछिको जटिल, संवेदनशील र चुनौतीपूर्ण अवस्थाबाट मुलुकलाई शान्तिपूर्ण निकासतर्फ डोर्याउँदै संविधानको मार्गमा फर्काउन सफल भएको बताइन्। विधिको शासन स्थापित गर्दै स्थिरताको दिशामा अघि बढ्नु सम्पूर्ण नेपाली जनताको संयम र सहकार्यको परिणाम भएको उनको भनाइ थियो।

उनले मतदानलाई केवल चुनाव चिन्हमा छाप लगाउने कार्य नभई आफ्नो र सन्तानको भविष्य निर्धारण गर्ने जिम्मेवार निर्णयको रूपमा व्याख्या गरिन्। “फागुन २१ गते अरू काम छाडेरै भए पनि मतदान केन्द्रमा पुगेर मतदान गर्नुहोस्,” उनले अपिल गरिन्।

निर्वाचनको पूर्वसन्ध्यामा शान्ति र अमनचयन कायम राख्न आग्रह गर्दै प्रधानमन्त्रीले स्वस्थ प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भए पनि मनमुटाव र वैमनस्य हुन नहुने बताइन्। मौन अवधिमा पूर्ण अनुशासन पालना गर्न र प्रचारप्रसारका क्रममा संयमित व्यवहार गर्न सबै राजनीतिक दल, उम्मेदवार र समर्थकहरूलाई उनले आग्रह गरिन्।

निर्वाचन आयोग, सुरक्षा निकाय र राष्ट्रसेवक कर्मचारीहरूको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्रीले निष्पक्ष, स्वच्छ र भयरहित निर्वाचन सम्पन्न गराउन सरकार पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारिन्। चारवटै सुरक्षा संयन्त्र परिचालन गरिएको र प्रदेश तथा स्थानीय तहले पनि आवश्यक सहयोग गरिरहेको जानकारी दिइन्।

सामाजिक सञ्जालमार्फत फैलाइने भ्रामक र तथ्यहीन सामग्रीप्रति सतर्क रहन आग्रह गर्दै उनले त्यस्ता गतिविधिलाई कानुनी दायरामा ल्याइने चेतावनी दिनुभयो। दण्डहीनतालाई प्रश्रय नदिने सरकारको अडान दोहोर्याउँदै कानुनबमोजिम कारबाही गर्न पछि नहट्ने स्पष्ट पारिन्।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *