नयाँ लहरमा एमालेका १० पदाधिकारी बढारिए, ओलीसहित सबै पराजित
काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सबैजसो पदाधिकारी प्रत्यक्षतर्फ पराजित भएका छन्। फागुन २१ गते सम्पन्न निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै एमालेका शीर्ष नेताहरू एकपछि अर्को गर्दै हार बेहोरेका हुन्। अधिकांश क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरूले एमाले नेताहरूलाई फराकिलो मतान्तरले पराजित गरेका छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट पराजित भएका छन्। उनलाई रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले ६८ हजार ३४८ मतसहित हराए। ओलीले भने १८ हजार ७३४ मत मात्रै पाए।
उपाध्यक्ष विष्णु पौडेल रुपन्देही–२ मा रास्वपाका सुलभ खरेलसँग पराजित भए। खरेलले ५६ हजार ५६० मत ल्याउँदा पौडेलले १२ हजार ८६१ मत पाए। उनीहरूबीचको मतान्तर ४३ हजार ६८९ रहेको छ।
लमजुङमा अर्का उपाध्यक्ष पृथ्बीसुब्बा गुरुङ पनि रास्वपाका धर्मराज केसीसँग पराजित भए। केसीले ३३ हजार ८९८ मत ल्याउँदा गुरुङले १६ हजार ८७६ मत प्राप्त गरे।
एमाले महासचिव शंकर पोखरेल दाङमा रास्वपाका सह–महामन्त्री विपीन आचार्यसँग फराकिलो मतान्तरले पराजित भए। आचार्यले ४३ हजार ५५७ मत ल्याउँदा पोखरेलले १५ हजार २८२ मत प्राप्त गरे।
गुल्मी–२ मा उपाध्यक्ष गोकर्ण विष्ट झिनो मतान्तरले पराजित भए। रास्वपाका गोविन्द पन्थीले १६ हजार ९६७ मत ल्याउँदा विष्टले १६ हजार ४०६ मत पाए। उनीहरूबीचको मतान्तर ५६१ रहेको छ।
कैलाली–४ मा उपमहासचिव लेखराज भट्ट तेस्रो स्थानमा रहे। त्यहाँ रास्वपाका खेमराज कोइराला २८ हजार ५५६ मतसहित विजयी भए भने कांग्रेसका गोरखबहादुर विष्ट दोस्रो स्थानमा रहे। भट्टले ९ हजार ४४४ मत प्राप्त गरे।
धनुषा–४ मा उपमहासचिव रघुवीर महासेठ पनि तेस्रो स्थानमा सीमित भए। रास्वपाका राजकिशोर महतो ४८ हजार २७० मतसहित विजयी हुँदा कांग्रेसका महेन्द्र यादव दोस्रो र महासेठ तेस्रो भए।
काठमाडौं–४ मा एमाले सचिव राजन भट्टराई तेस्रोपटक पराजित भए। रास्वपाका पुकार बम २९ हजार १२४ मतसहित निर्वाचित भए। कांग्रेसका सचिन तिमिल्सेनाले ८ हजार ८२४ मत ल्याउँदा भट्टराईले ५ हजार ७३३ मत मात्रै पाए।
तेह्रथुममा एमाले सचिव भानुभक्त ढकाल कांग्रेसका सन्तोष सुब्बासँग पराजित भए। सुब्बाले ११ हजार ५६१ मत ल्याउँदा ढकालले १० हजार ६२८ मत पाए।
भक्तपुर–२ मा एमाले सचिव महेश बस्नेत फराकिलो मतान्तरले पराजित भए। रास्वपाका राजीव खत्रीले ४२ हजार ३३४ मत ल्याएर ३१ हजारभन्दा बढी मतान्तरले विजय हासिल गरे। बस्नेतले १० हजार ९९६ मत पाए।
भोजपुरमा एमाले सचिव शेरधन राई पनि पराजित भए। उनलाई श्रम संस्कृति पार्टीका ध्रुवराज राईले १६ हजार ६६३ मत ल्याएर हराए। शेरधनले १४ हजार ७५० मत प्राप्त गरे।
यता एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव पद्मा अर्याल समानुपातिक सूचीमा रहेका छन् भने उपमहासचिव योगेश भट्टराईले यसपटक प्रत्यक्षतर्फ टिकट पाएका थिएनन्।
