विश्वकै दोस्रो प्रदूषित सहर काठमाडौं, भोलिदेखि घट्ने अनुमान
काठमाडौं । देशमा हाल वायु प्रदूषण उच्च छ । काठमाडौं विश्वकै वायु प्रदूषणको दोस्रो स्थानमा छ ।
मंगलबार (फागुन २६) बिहान ९ः४५ बजेको मापनमा काठमाडौंको वायुको गुणस्तर मापदण्ड अर्थात् एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २१३ छ । जनस्वास्थ्यका निम्ति यो ‘अति अस्वस्थकर’ हो ।
स्वीट्जरल्यान्डमा मुख्यालय रहेको वायु प्रदूषणको स्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आईक्यू एयरका अनुसार, प्रदूषित सहरको सूचीमा यति बेला काठमाडौंभन्दा अगाडि भारतको दिल्ली २९८ (एक्यूआई) मात्र छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को मापदण्डअनुसार यी सहर ‘अति अस्वस्थकर’को सूचीमा छन् ।
नेपालका कतिपय स्थानमा पानी परेको छ । तर पनि वायु प्रदूषण नघटेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले बताएका छन् ।
हाल हावा एकदमै कम चलेको, अरू देशहरूबाट पनि प्रदूषण आएको तर कतै जान नसकेकाले यो कम नभएको उनले उल्लेख गरेका छन् ।
“वर्षा भए पनि (केही ठाउँमा) नेपालमा वायु प्रदूषण धेरै अस्वस्थ छ,” उनले मंगलबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, “हावा एकदमै कम चलेको (लगभग शून्य), अरू देशहरू बाट पनि प्रदूषण आएको, तर कतै जान नसकेकोले हो ।”
वायु प्रदूषण कम हुन हावा चलेर ‘राम्रो’ वर्षा हुनुपर्ने उनले बताएका छन् । बुधबार (फागुन २७)देखि प्रदूषण घट्ने सम्भावना रहेको उनको भनाइ छ । “गड्याङगुडुङसहित हावा चलेर राम्रो वर्षा भए मात्र हावा सफा हुने देखिन्छ, जुन भोलिदेखि हुन सक्ने सम्भावना छ,” उनले भनेका छन् ।
एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति ‘अस्वस्थकर’ हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ ।
जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले पनि वायु प्रदूषण नघटेको जनाएका छन् । “आज ९मंगलबार० काठमाडौं वरिपरिलगायत पश्चिम नेपालतिर बादल, दिउँसो कतै सिमसिम पानी, प्रदूषण पनि घटेको छैन,” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
