स्वास्थ्य बीमा सेवा राष्ट्रिय परिचय नम्बरमार्फत डिजिटल बनाइँदै
काठमाडौं । स्वास्थ्य बीमा सेवालाई प्रविधिमैत्री र सुरक्षित बनाउने उद्देश्यले स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच समझदारी भएको छ ।
राष्ट्रिय परिचयपत्रमा रहेको विवरण र नम्बरलाई स्वास्थ्य बीमा प्रणालीमा आबद्ध गर्ने गरी दुई निकायबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक नमराज घिमिरे र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा। कृष्ण प्रसाद पौडेलले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार अब स्वास्थ्य बीमा बोर्डले राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली मार्फत विद्युतीय सेवाहरूको प्रयोग गर्नेछ । यस सहकार्यले नागरिकको पहिचान डिजिटल रूपमा प्रमाणीकरण गर्ने बाटो खोलेको छ । राष्ट्रिय परिचय नम्बरलाई बीमासँग जोड्दा प्रणाली अझ बढी सुरक्षित, छिटो र भरपर्दो हुने विश्वास लिइएको छ ।
यो नयाँ व्यवस्थासँगै स्वास्थ्य बीमाको दर्ता र नवीकरण प्रक्रियामा हुने झन्झट हट्नेछ । परिचयपत्रमा भएकै विवरणका आधारमा डिजिटल प्रमाणीकरण हुने भएकाले सेवाग्राहीले अस्पताल तथा सेवा केन्द्रहरूमा छिटो सेवा पाउनेछन् । यसले तथ्यांक एकीकरणमा सघाउ पुर्याउनुका साथै एकै व्यक्तिको दोहोरो दर्ता हुने समस्यालाई समेत पूर्ण रूपमा नियन्त्रण गर्नेछ ।
सरकारी सेवाहरूलाई एकीकृत गर्ने लक्ष्य अनुरूप चालिएको यो कदमले स्वास्थ्य बीमाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । बीमा बोर्डले यसअघि नै राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने तयारी गरिरहेको सन्दर्भमा भएको यो समझदारीले डिजिटल नेपाल को अभियानलाई समेत सहयोग पुर्याउने देखिएको छ ।
