कम्बोडियाबाट २० नेपालीको उद्धार
काठमाडौँ । कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार गरिएको छ। रोजगारीको प्रलोभनमा परी कम्बोडिया पुगेर अलपत्र परेका २० जना नेपालीको उद्धार गरिएको हो।
उनीहरु कम्बोडियाबाट बुधबार उडेर बिहीबार नेपालस्थित त्रिभुवन विमानस्थलमा अवतरण गरेका छन्। गैरआवासीय नेपाली संघ कम्बोडियाको सहजीकरणमा थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले कम्बोडिया सरकारको सहयोगमा उनीहरूको उद्धार गरेको हो।
उद्धार गरिएकाहरूको दूतावासले कुनै परिचय खुलाएको छैन। दूतावासका अनुसार उद्धार गरिएकाहरु अनलाइन स्क्यामिङ केन्द्रहरू, अनलाइन ठगी गर्ने क्यासिनोहरू र अन्य विभिन्न गैरकानुनी काममा लगाइएका र विनाभिसा बसिरहेका व्यक्तिहरु हुन्।
कम्बोडियामा अझै केही नेपालीहरू अलपत्र परेको सूचना प्राप्त भएको र उनीहरुलाई पनि फर्काउन पहल भइरहेको दूतावासले जानकारी दिएको छ।
कम्बोडियामा अलपत्र अवस्थामा रहेका नेपालीहरूलाई बैंककस्थित दूतावास वा गैरआवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिहरु (शिवराज पराजुली +८५५ १२ २१५ ५७८, लालसिहं खडका +८५५ ९३ २०३ ६६६, रामजीकुमार क्षेत्री +८५५ ९६ ३४६ ५७८८)लाई सम्पर्क गर्न पनि आग्रहर गरिएको छ।
कम्बोडियाको पर्यटनसम्बन्धि तथ्याङ्क अनुसार पछिल्लो समय सन् २०२१ मा १०१ जना नेपालीहरु भ्रमण भिसामा कम्बोडिया गएकोमा सन् २०२२ मा १९७७ जना, सन् २०२३ मा २९४० जना, सन् २०२४ मा ६, ४०४ जना तथा सन् २०२५ मा ९, ६७6 जना नेपालीहरू कम्बोडिया पुगेका छन्।
दूतावासले कुनै प्रलोभनमा नपरी नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र कम्बोडिया, लाओस, म्यानमार थाइल्याण्डलगायतका मुलुकहरूमा नजान आग्रह गरेको छ।
