विश्व पानी दिवसमा राष्ट्रपतिको आह्वान: पानी संरक्षणमा सबैको साझा जिम्मेवारी

 विश्व पानी दिवसमा राष्ट्रपतिको आह्वान: पानी संरक्षणमा सबैको साझा जिम्मेवारी

ramchandra poudel

काठमाडौं । रामचन्द्र पौडेलले विश्व पानी दिवसको अवसरमा पानीको संरक्षण, दिगो उपयोग र समान पहुँच सुनिश्चित गर्न राष्ट्रिय स्तरमै एकजुट प्रयास आवश्यक रहेको बताएका छन्। विश्व पानी दिवस (२२ मार्च) का अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उनले सरकारी निकाय, विकास साझेदार, संघसंस्था र आमनागरिकलाई सहकार्य, समन्वय र प्रतिबद्धताका साथ अघि बढ्न आह्वान गरेका हुन्।

राष्ट्रपति पौडेलले पानीलाई जीवन, स्वास्थ्य, समृद्धि र सामाजिक न्यायको आधारका रूपमा व्याख्या गर्दै मानव सभ्यताको विकाससँग यसको गहिरो सम्बन्ध रहेको उल्लेख गरेका छन्। उनका अनुसार प्राचीन सभ्यताहरू नदी किनारमै विकसित भएका थिए भने आजको अवस्थामा आइपुग्दा पानीको संरक्षण झन् चुनौतीपूर्ण बन्दै गएको छ।

उनले विशेषगरी खानेपानी व्यवस्थापनमा लैंगिक समानता, समानुपातिक सहभागिता र न्यायोचित पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। “पानीमा समान पहुँच बिना सामाजिक न्याय सम्भव हुँदैन,” भन्ने सन्देशमार्फत उनले समावेशी विकासको आवश्यकता पनि जोड दिएका छन्।

राष्ट्रपतिका अनुसार भूमिगत जलस्रोत नेपालका लागि अत्यन्त महत्वपूर्ण प्राकृतिक सम्पदा हो, जसले पारिस्थितिक प्रणाली सन्तुलनमा राख्न, नदीको बहाव व्यवस्थापन गर्न र जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न मद्दत पुर्‍याउँछ। तर बढ्दो सहरीकरण, अव्यवस्थित बस्ती विस्तार, औद्योगीकरण र प्रदूषणका कारण यस्ता स्रोतहरू गम्भीर संकटमा परेको उनले चेतावनी दिएका छन्।

सन्देशमा भूमिगत पानीको सतह घट्दै जानु, पुनर्भरणमा अवरोध हुनु तथा प्रदूषण बढ्नुजस्ता समस्यालाई भविष्यको जलसंकटको संकेतका रूपमा प्रस्तुत गरिएको छ। यसलाई समाधान गर्न जलाधार क्षेत्र संरक्षण, परम्परागत जलस्रोत जस्तै आहाल, पोखरी र तालतलैयाको संरक्षण तथा पुनर्निर्माणमा जोड दिनुपर्ने उनले बताएका छन्।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९३ देखि मनाइँदै आएको विश्व पानी दिवस यस वर्ष नेपालमा ‘लैंगिक समानताका लागि पानीको महत्त्वपूर्ण भूमिका’ भन्ने मूल सन्देशका साथ विभिन्न सचेतनामूलक कार्यक्रममार्फत मनाइँदैछ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *