पोखरा विमानस्थल निर्माणमा ४६ करोड अनियमितता, २१ व्यक्ति र २ कम्पनीविरुद्ध मुद्दा

 पोखरा विमानस्थल निर्माणमा ४६ करोड अनियमितता, २१ व्यक्ति र २ कम्पनीविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा २१ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपाने का अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको उक्त आयोजनामा परामर्शदाता नियुक्ति प्रक्रियामा मिलेमतो र कानुनविपरीत कार्य गरी ठूलो आर्थिक हानिनोक्सानी पुर्‍याइएको ठहर गरिएको छ।

यस प्रकरणमा तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारी सहित प्राधिकरणका पूर्वमहानिर्देशकहरू सञ्जीव गौतम, राजन पोखरेल, प्रदीप अधिकारीलगायत उच्च पदस्थ अधिकारीहरूलाई प्रतिवादी बनाइएको छ। साथै परामर्शदाता कम्पनी ईआरएमसी/ए-नट/स्लेट जेभी र ठेकेदार चाइना सीम्याक इन्जिनियरिङ कम्पनी लिमिटेड पनि मुद्दामा समेटिएका छन्।

अनुसन्धानअनुसार चाइना एक्जिम बैंकको ऋण सहयोगमा निर्माण भइरहेको परियोजनामा परामर्श सेवाका लागि छुट्याइएको बजेट प्रयोग नगरी छुट्टै प्रक्रिया मार्फत ५० करोडभन्दा बढी लागत अनुमान तयार पारिएको थियो। पछि ४२ करोड ८९ लाख रुपैयाँमा सम्झौता गरी ४० करोडभन्दा बढी भुक्तानी गरिएको आयोगले जनाएको छ।

त्यसैगरी सम्झौताविपरीत ‘प्रोभिजनल सम’ अन्तर्गतको रकम अन्य शीर्षकमा खर्च गर्ने गरी मूल्य सूची परिवर्तन गरिएको र यसमा कर्मचारी तथा ठेकेदारबीच मिलेमतो भएको पाइएको छ।

आयोगका अनुसार यस प्रकरणमा कुल ४६ करोड १५ लाख रुपैयाँभन्दा बढी सार्वजनिक सम्पत्ति हिनामिना तथा दुरुपयोग भएको निष्कर्ष निकालिएको छ। यसमध्ये ८ करोड ९५ लाख रुपैयाँ बढी लागत देखाइएको र ३७ करोडभन्दा बढी रकम सम्झौताविपरीत खर्च गरिएको उल्लेख छ।

आयोगले सार्वजनिक खरिद ऐन उल्लंघन गर्दै सीमित प्रतिस्पर्धा गराइएको, लागत अस्वाभाविक रूपमा बढाइएको र सम्झौताका सर्तहरू उल्ट्याइएको आरोप लगाएको छ।

यस मुद्दामा संलग्न सबैलाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कैद, जरिवाना र बिगो असुलउपरको मागदाबी गरिएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *