सिड्नीमा बाल साहित्यिक कार्यक्रम सम्पन्न, दोस्रो पुस्ताका नेपाली बालबालिकालाई मातृभाषासँग जोड्ने प्रयास
सिड्नी । अष्ट्रेलियामा जन्मे–हुर्केका नेपाली मूलका दोस्रो पुस्ताका बालबालिकालाई भाषा, साहित्य र संस्कृतिप्रति अभिप्रेरित गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यु साउथ वेल्स च्याप्टरद्वारा आयोजित बाल साहित्यिक कार्यक्रम सम्पन्न भएको छ।
फेन्का न्यु साउथ वेल्स, एसोसिएसन अफ नेपाल तराई इन अष्ट्रेलियाको सहकार्य तथा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस, स्मार्ट मोर्टगेज हब र डिजि स्कुल अष्ट्रेलियाको सहयात्रामा शनिबार सिड्नीस्थित ग्रान्ड प्यालेस फङ्सन सेन्टरमा कार्यक्रम आयोजना गरिएको हो।
पण्डित गुरु नारायण शास्त्रीको स्वस्तिवाचनसहित दीप प्रज्वलन गरेर सुरु गरिएको कार्यक्रममा अनेसास न्यु साउथ वेल्स च्याप्टरका अध्यक्ष डा. प्रकाश पौडेलको अध्यक्षता रहेको थियो। महासचिव भावना पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको उद्देश्य र महत्वबारे प्रकाश पारेकी थिइन्।
कार्यक्रममा एनआरएनए न्यु साउथ वेल्स महिला फोरम संयोजक आशा श्रेष्ठ, फेन्का अष्ट्रेलियाका अध्यक्ष डा. मधु पुडासैनी, समाजसेवी तथा व्यवसायी रन्जित शाह, फेन्का न्यु साउथ वेल्सका संयोजक मुक्तिराम पोखरेल, रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाका अध्यक्ष रन्जिता भण्डारी, लुक्ला टिभिका प्रधान सम्पादक तथा समाजसेवी प्रा. डा. राजु मानन्धर, साहित्यकार दयाराम सिङ्खडा र सौरभ किरण श्रेष्ठ, कलाकार जेनिसा गौतम, वचन न्यूजका जीवन रायमाझी, समाजसेवी सविता पुडासैनी तथा नृत्यकार रिना आचार्यलगायतको उपस्थिति रहेको थियो।
उनीहरूले प्रवासमा जन्मिएका बालबालिकालाई मातृभाषासँग जोड्ने तथा उनीहरूको साहित्यिक र सांस्कृतिक प्रतिभा प्रस्फुटन गराउने प्रयास सराहनीय रहेको बताएका थिए।
बाल साहित्यकार अन्वी वस्ताकोटीको सञ्चालनमा सम्पन्न कार्यक्रममा १८ भन्दा बढी बालबालिकाले सहभागिता जनाएका थिए। सहभागीहरूले कविता, कथा, नृत्य, गीत, रामायण वाचन तथा श्लोक प्रस्तुत गरेका थिए।
कार्यक्रमको अन्त्यमा अनेसास न्यु साउथ वेल्स च्याप्टरका अध्यक्ष डा. प्रकाश पौडेल र महासचिव भावना पराजुलीले सहभागी बालबालिकालाई पुरस्कार तथा प्रशंसा–पत्र वितरण गरेका थिए। साथै, कार्यक्रममा उपस्थित सबैप्रति आभार व्यक्त गर्दै नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिएको थियो।
